७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

उच्च पडाडी भेगमा भारी हिमपात, जनजीवन प्रभावित



पर्वत १२ माघ ।  पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो ।

शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीले जनाएको छ ।
वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पु¥याएको स्थानीय कृषकले जानकारी दिएको छ । गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।

समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको छ, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । जलजला गाउँपालिकाको लेकफाँट, मोहोरेडाँडा र बनौलगायत लेकमा भारी हिमपात भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।

मोदी गाउँपालिका–४ क्याङको उपल्लो खर्क र सहश्रधारालगायतमा पनि करीब तीन फिटसम्म हिमपात भएको क्याङका नरसिंह पुनले जानकारी दिनुभयो । फलेवास नगरपालिका–१ र २ मा पर्ने डहरेको लेक, महाशिलाको फलामखानी, देउरालीलगायतका लेकमा पनि हिमपात भएको लुङ्खुदेउरालीका एकबहादुर हमालले जानकारी दिनुभयो । धेरै वर्षपछि बाक्लो हिउँ परेपछि स्थानीयवासी घर बाहिरै निस्कन नसकेको उहाँले बताउनुभयो ।

उपल्लो बस्तीमा हिमपात भइरहँदा तल्लो बस्तीमा भने चिसो बढेको छ । वर्षासँगै शीतलहर र तुवाँलोका कारण कुश्मा, ज्ञाँदी, फलेवास, बिहादी, रानीपानीलगायतका बस्तीमा बिहान शीत जमेर बाहिर निस्किनै नसक्ने अवस्था भएको स्थानीयवासीले बताएको छ ।

पाँच महीनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् । सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरीलगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको किसानको दाबी छ ।

लगातार परेको वर्षाले बेँसीको बस्तीमा अत्यधिक चिसो बढेको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिसोका बिरामी बढेका छन् । चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : १२ माघ २०७५, शनिबार ००:००