१४ जेष्ठ २०७९, शनिबार । May 28, 2022

मुख्य खबर

‘आफैँले कमाएर पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली भयो !’



खोटाङ, ११ माघ। भित्तामा टाँसिएको ढुङ्गा र माटोले बनाइएको एकतले झुप्रो घर । घरसँगै जोडेर बनाइएको बाख्राको खोर । बाख्राको खोरबाट उडिरहन्छन् अनगिन्ती झिँगा र भुसुना । झिँगा र भुसुनाले बारम्बार उनकै शरीरमा आक्रमण गरिरहेका हुन्छन् । बारम्बार दुःख दिने झिँगा र भुसुना धपाउन उनीसँग न त हात छन्, न खुट्टा नै ।

नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका कर्मचारी हरिकाजी ढुङ्गाना कार्यालयले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्दै गर्दा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएपछि यस्तो अवस्थामा पुग्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी केही वर्ष पहिलेसम्म गाउँकै सबैभन्दा बलिया युवा हुनुहुन्थ्यो ।

हात खुट्टा छँदा गाउँमा कोही बिरामी परे बोकेर अस्पताल पु¥याउनेदेखि गाउँमा नयाँ घर बनाउनेका लागि सिङ्गो निदाल काँधमा हाल्ने हरिकाजी मात्रै हुनुहुन्थ्यो । त्यही साहसिक व्यक्ति भएकै कारण हरिकाजीले विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रमा तार तान्नेदेखि पोल ठड्याउने र मिलाउने प्राविधिकको जागिर पाउनुभएको हो ।

सबै मानिसका लागि उज्यालो दिन बनाइएको विद्युत् अहिले ३७ वर्षीय हरिकाजीको जीवनका लागि भने अहिले अन्धकार छाउने माध्यम बन्न पुगेको छ । अरुलाई उज्यालो दिन बिजुलीको तार जोड्न पोलमा चढ्नुभएका हरिकाजीले करेन्ट लागेसँगै दुवै हात र एउटा दाहिने खुट्टा गुमाउनुभएको हो ।

करेन्टले डढेर हातखुट्टा पग्लिएपछिको उहाँको हातखुट्टा प्लास्टिकको डण्डी जस्तै देखिन्थ्यो । हरिकाजीलाई बचाउन काठमाडौँस्थित विएण्डबी अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाँहिने खुट्टा काटेर फाल्ने निर्णय लिन आफन्तलाई आग्रह गरे ।

उमेर ढल्कँदै गएको बुबाआमाका साथमा बस्नुभएका हरिकाजीको त्यो बेला श्रीमतीको पेटमा हुर्कदै गरेको नासो थियो । दुर्घटनामा परेको केही महीनापछि हरिकाजीका श्रीमती सीताले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिनुभयो ।

आँखाबाट आँसु बगाउँदै हरिकाजीका श्रीमती सीताले भन्नुभयो, “उहाँको शरीर मात्र बचाउन सके पनि ठूलो प्राप्ति भएको छ”, उहाँले थप्नुभयो, “अहिले देब्रे खुट्टाका केही औँलासमेत छैनन् । दुई हात र दाँहिने खुट्टाको माथिल्लो भागमै काटेर फालिएको चार वर्ष भयो । अहिले उहाँ शरीर मात्र लिएर बाँचिरहनुभएको छ । सारा गाउँबस्ती उज्यालो पार्न हिँड्नुभएका उहाँको अहिले जीवन नै अन्धकार भएको छ ।”

शरीर मात्र बाँकी रहेपछि परिवारकै जीवन कष्कर बन्दै गएको हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिका नाममा केही पाखो बारी मात्र छ । घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् ।

वृद्ध बुबाआमा र बहिनी हरिकाजीकै सहारामा थिए । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार सहाराविहीन बनेका छन् । अहिले उनीहरुको घरमा चुल्हो बाल्न नै धौधौ परेको छिमेकी बताउँछन् ।

हरिकाजीको परिवारलाई सहयोग गर्न चाहनेका लागि राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखामा रहेको बचत हिसाब नं ११२००२१९७३१० गर्न सकिने छ ।

घरका एक्ला छोरा हरिकाजीका लागि सहयोग जुटाउन उपचारकै क्रममा ललितपुरमा उक्त बैंक खाता खोलिएको हो । कमाएर ल्याउने हरिकाजीकै हालत यस्तो भएपछि उनीहरुका आँखा अहिले ओभाएका छैनन् ।

प्रकाशित : ११ माघ २०७५, शुक्रबार ००:००