४ बैशाख २०८१, मंगलबार । April 16, 2024

ग्लोबल

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित



क्वालालमपुर, १० माघ ।  मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित हुनुभएको छ ।

संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा हुनुभएको अधिकारीहरूले जनाएका छन् ।

राज्यद्वारा सञ्चालित समाचार संस्था बेर्नामाले जनाएअनुसार यही जनवरी ३१ तारिखका दिन उहाँले पद वहाली गर्नुहुनेछ ।

यसअघिका राजा सुल्तान मुहम्मद पाँचौले यही जनवरी ६ मा राजिनामाको घोषणा गरेपछि नयाँ राजा चयन गरिएको हो ।

मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावअधि नसकिँदै राजिनामा दिने उहाँ पहिलो राजा हुनुहुन्छ ।

उहाँले राजिनामा दिनु पर्नाको कारण अहिले सम्म स्पष्ट पारिएको छैन । तर उहाँले रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले राजिनामा दिएको बताइएको छ ।

राजिनामाको घोषणा गर्नुअघि ४९ बर्षीय १५औं राजा सुल्तानले केही सातादेखि विदा लिनुभएको थियो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिनुभएको थियो ।

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्नु भएको थियो । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ बर्षिय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित हुनुभएको हो ।

नयाँ राजा अब्दुल्लाहका पिता सुल्तान अहमद शाहले ८८ बर्षको उमेरमा यही जनवरी ११ का दिन पद त्याग गरेपछि अब्दुल्लाह त्यस राज्यको सुल्तान बन्नु भएको थियो । अस्वस्थताको कारण देखाउदै उहाँका पिताले पद त्याग गर्नुभएको थियो ।

नयाँ राजा अब्दुल्लाह खेलकुदमा अत्यधिक संलग्न व्यक्ति हुनुहुन्छ । उहाँ आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि भएसक्नुभएको छ । साथै उहाँले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको छ ।

उहाँसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीहरुले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेबारी सम्हाल्नु भएका ६२ बर्षिय नज्रिनलाई उपप्रमुखको रुपमा फेरी पनि पाँच बर्षका लागि निरन्तरता दिइएको हो ।

सन् १९५७ मा ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन् । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ ।

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्ख्यक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकतावद्ध राखेको विश्वास गर्छन् ।
अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ ।

मलेसियाका १३ राज्य मध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यका गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रीय प्रणाली मार्फत् पाँच पाँच बर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।

प्रायः पालो कुरेर बसेका सुल्तान पालै पालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको थियो ।

राजा छान्न सबै सुल्तानहरूलाई राजा हुने पालो भएको राज्यका सुल्तानको नाम लेखिएको मतपत्र दिइन्छ । अनि उनीहरूले नै गोप्य मतदानबाट ती सुल्तान राजा हुन उपयुक्त छैन कि छैनन् भनेर निर्णय गर्छन् ।

राजा निर्वाचित हुन नौमध्ये कम्तीमा पाँच मत अर्थात् बहुमत पाउनु पर्दछ । बहुमत नपुगेमा त्यसपछि पालो भएको राज्यका सुल्तानको नाममा यही प्रक्रियाबाट मतदान गर्ने परम्परा रहेको छ ।

प्रकाशित : १० माघ २०७५, बिहिबार ००:००