४ बैशाख २०८१, मंगलबार । April 17, 2024

ग्लोबल

भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा



काराकास, १० माघ । भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गर्नुभएको छ । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस निकालेका छन् । 

गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गर्नुभएको छ भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना समेतले गुएइदोलाई समर्थन गरेका छन् ।

राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता गुएइदोको समर्थन गरेको भन्दै अमेरिकी कुटनीतिज्ञलाई भेनेजुएला छाड्न आदेश दिनुभएको छ । यद्यपी राष्ट्रपति मदुरोको पछिल्लो अवस्थाका बारेमा केही सार्वजनिक भएको छैन ।

भेनेजुएलाको संसद, सेना र अदालत सबै विभाजित भएको ठानिएको छ । राजधानी काराकास समेत देशका सबै प्रमुख शहरमा राष्ट्रपति मदुरोको विपक्षमा नारा जुलुस भएका छन् । नारा जुलुसकै क्रममा भएको झडपमा एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु पनि भएको छ ।

देशभित्र फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् ।

“आज जे भएको छ यसले हामीमा एउटा आशाको सञ्चार भएको छ, यो अति आवश्यक थियो । अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ,” सरकार विरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले बताउनुभयो ।

राष्ट्रिय सभाका विपक्षी नेता गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै सडकमा उत्रिएका फ्लोरेसले उक्त आशा र विश्वास व्यक्त गर्नुभएको हो ।

“गुएइदोले जे भन्नुहुन्छ हामीले समर्थन गर्नुको अब विकल्प छैन । उहाँले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ, उहाँले अब चुनावको मिति घोषणा गर्नु पर्दछ,” फ्लोरेसले बताउनुभयो । “काराकासको पूरै सहर उहाँको समर्थनमा सडकमा उत्रिएको छ ।”

घोषणालगत्तै सडकमा सवारी साधनले लगातार हर्न बजाएका थिए । कतिपय रङ्गीविरङ्गी पोशाकमा सहभागी प्रदर्शनकारीले भेनेजुएलाको झण्डा फहराएका थिए । प्रदर्शनकारीहरु शहरका एक कुनाबाट अर्को कुनामा मोटरसाइकलमा झण्डा हालेर दौडिरहेका थिए ।

भेनेजुएलाको अर्थतन्त्र धरापमा परेसँगै राष्ट्रपति निकोलास मदुरोको शासन सङ्कटमा परिरहेको थियो । चौतर्फी आलोचना खेपीरहेको मदुरोको शासनका विरुद्धमा लगातार विरोध प्रदर्शन भइरहेका थिए ।

गत वर्ष संयुक्तराज्य अमेरिका र भेनेजुएलाका छिमेकी मुलुकहरुले राष्ट्रपति मदुरोको पुनः निर्वाचनलाई अबैध घोषणा गरेका थिए ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै विपक्षी नेता गुएइदोले भन्नुभयो, “हामीलाई थाहा छ, यसले निश्चित परिणाम दिनेछ । हामीले पूर्ण लोकतन्त्र प्राप्त नगर्दासम्म प्रदर्शन जारी रहन्छ । हामी जनताको आशा र अभियानलाई खेर जान दिने छैनौं ।”

एक जना मानव अधिकारवादी वकिल गोन्जालेजले भन्नुभयो, “हुँवा गुएइदो राष्ट्रपति भइसक्नुभो, त्यसका लागि हामी लड्न अझै तयार हुनु परेको छ ।”

प्रकाशित : १० माघ २०७५, बिहिबार ००:००