७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

किरात प्रदेश नभए आन्दोलन गर्ने चेतावनी

गणतन्त्रपछि सांस्कृतिक अतिक्रमण भएको आरोप



मोरङ । प्रदेश नम्बर १ को नाम किरात प्रदेश नभए गम्भीर आन्दोलन हुने किरात राई यायोक्खाका नेताहरुले चेतावनी दिएका छन् ।
आज (सोमबार) यायोक्खा जिल्ला कार्यसमिति मोरङले कानेपोखरी स्थित साकेला थानमा आयोजित यले नयाँ बर्ष ५०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा बक्ताहरुले सो चेतावनी दिएका हुन् ।
कार्यक्रममा यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राई, केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, पूर्व केन्द्रीय सदस्य बुद्धि चाम्लिङ, जिल्ला अध्यक्ष नवीन राई लगायतले बोलेका थिए । प्रदेशको नाम भूगोल, सभ्यता र इतिहासको आधारमा किरात राखिनु पर्ने बक्ताहरुको भनाइ थियो ।
किरात शब्द कुनै जातीय नभएको बक्ताहरुले बताए । प्रदेशको नामकरणको सन्दर्भमा प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई भेटेर समन्वयको लागि अनुरोध गर्दै विषय बुझाइसकेको बक्ताहरुले जानकारी दिए । प्रदेश १ का सरकार प्रमुख, सभामुख, प्रदेश सभासदस्यहरुलाई समेत किरात राज्य नामकरणको लागि ज्ञापनपत्र बुझाइ सकेकोले किरात नाम राख्न कन्ज्युस्याइ गर्नुपर्ने कुनै करण नरहेको यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राईले बताए । किरात नाम नराखिए किरात पहिचानको लागि निर्णायक आन्दोलनहुने बक्ताहरुको भनाइ थियो ।
गणतन्त्र र संघीयता कार्यान्वयनपछि उत्पीडित आदिवासी जनजातिमा सांस्कृतिक अतिक्रम बढेको भन्दै बक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । धिमाल समुदायको उद्गम स्थल लेटाङको राजारानीलाई तीन धाम बनाएर अतिक्रमन गर्ने योजना तुरुन्त खारेज गरिनु पर्ने बताए । त्यसैगरी मोरङको पथरीशनिशरे नगरपालिका १० मा बन्न लागेको आदिवासी जनजाति संग्राहलयलाई तीन धाम बनाउने गलत योजना बन्द गरिनुपर्ने उनीहरुले बताएका छन् । स्थानीय तहको सरकार गठन भएपछि लक्षित वर्गको लागि छुटिन्दै आएको १५ प्रतिशत रकम बन्द भएको, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानमा बजेट घटाएर शून्य पारिएको तर्क प्रस्तुत गर्दै अधिकार कटौती नगर्न अनुरोध गरेका हुन् ।

प्रकाशित : ७ माघ २०७५, सोमबार ००:००