७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार



पोखरा, २५ पुस । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा रु आठ करोडको कारोवार गरेको छ ।

उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रु सात करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराउनुभयो ।

सोमध्ये सबैभन्दा धेरै नूनको कारोवार भएको छ । सो अवधिमा रु सात करोड ३२ लाख ११ हजार ९६५ मूल्य बराबरको ८९ हजार २८५ बोरा नून बिक्री भएको छ । सो अन्तर्गत रु ६ करोड २१ लाख ८३ हजार २९० मूल्य बराबरको ६७ हजार २२८ बोरा आयोनून र रु एक करोड १० लाख २८ हजार ६७५ मूल्य बराबरको ढिक्के नून बिक्री गरेको छ ।

साल्ट ट्रेडिङ पोखराले डिलरको माध्यमबाट कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र गोरखा जिल्लामा नून आपूर्ति गर्दछ । उक्त कार्यालयले रु १६ लाख ५६ हजार ३४२ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । यस्तै रु एक लाख तीन हजार ३१८ मूल्य बराबरको १५० बोरा चोकर र मैदा साथै रु ८१ हजार मूल्य बराबरको पिठो बिक्री भएको छ । त्यस्तै, रु चार लाख ६९ हजार ३०७ मूल्य बराबरको सूर्यमुखी तेल र चार हजार ४६० मूल्य बराबरको खाने तेल गरिएको हो । उक्त कार्यालयबाट रु चार लाख नौ हजार २०३ मूल्य बराबरको १३६ बोरा चिनी पनि सो अवधिमा बिक्री भएको थियो ।

प्रकाशित : २५ पुस २०७५, बुधबार ००:००