१० चैत्र २०८०, शनिबार । March 23, 2024

ग्लोबल

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित



टोकियो, २४ पुस । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित हुनुभएको छ । अदालतमा बयानका क्रममा उहाँले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गर्नुभएको अदालतले जनाएको छ ।

गोउनलाई कम्पनीको गलत वित्तीय रिपोर्टिङको आरोपमा गत नोभेम्बर १९ मा पक्राउ गरिएको थियो ।

“मेरा विरुद्ध लगाइएका आरोपहरु असत्य हुन्, म निर्दोष छु,” गोउनले न्यायाधीश समक्ष भन्नुभयो । न्यायाधीश समक्ष आफ्नो वक्तव्य पढेर सुनाउँदा उहाँ दृढ र शान्त देखिनुभएको थियो । “मलाई अन्यायपूर्वक आरोपित गरिएको छ ।”

सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उहाँमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब चार करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ ।

वकीलहरुले वित्तीय सङ्कटका कारण निसानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशंका पनि गरेका छन् ।

कालो सुट र प्लास्टिक चप्पल लगाएर अदालतमा उपस्थित हुनुभएका गोउनले आरोप लगाइएका प्रत्येक बुँदाको जवाफ दिनुभएको थियो । उहाँले आरोपहरुमाथि प्रतिवाद गर्दै भन्नुभयो, “म निसान बीचमै छाड्न पनि सक्दथें, तर कम्पनी छाड्न चाहिनँ ।”

“आँधी आएका बेला जहाजको कप्तानले जहाज छाड्दैन,” उहाँले अदालतमा भन्नुभयो ।

विश्वकै अटो उद्योगमा चर्चित व्यक्तित्व कार्लोस गोउन विश्व आर्थिक मञ्चदेखि अरु ठूला एवं विशिष्ट मञ्चहरुमा वक्ताका रुपमा रहने गर्नुहुन्थ्यो । तर तिनै विशिष्ट व्यक्तित्व गोउनलाई अदालतमा उपस्थित गराउँदा जापान प्रहरीले हतकडी लगाएको थियो । अदालतभित्रको इजलासमा भने उहाँको हतकडी फुकालिएको थियो ।

न्यायाधीश युची ताडाले इजलासमा गोउनमाथि लागेको आरोप पत्र पढेर सुनाउनुभएको थियो । न्यायाधीश ताडाले गोउनमाथि जापानबाट भाग्न खोजेको पनि बताउनुभएको थियो । जापानी सरकारी वकीलहरुले गोउनले प्रमाणहरु लुकाउने वा नष्ट गर्ने सम्भावना पनि रहेको आरोप लगाएका छन् ।

गोउन निजी जेट लिएर टोकियोमा ओर्लनासाथ प्रहरीले गिरफ्तार गरेको थियो । कार्लोस गोउन फ्रान्सेली नागरिक हुन् ।

जापानमा शंकास्पद व्यक्तिहरुलाई प्रमाण नष्ट गर्ने वा तोडमोड गर्ने भन्दै जमानत नदिई थुनामा राख्ने प्रचलन छ ।

मङ्गलबारको सुनुवाईका क्रममा गोउनका एकजना वकील गो कोन्डोले गोउन विदेशतर्फ भाग्ने खतरा नरहेको दाबी गर्नुभयो । “गोउन चिरपरिचित व्यक्ति हुन्, त्यसैले भाग्ने सम्भावना नै छैन । उहाँले प्रमाण नष्ट गर्ने कुनै जोखिम नै छैन ।”

गोउनले अदालत समक्ष आफ्नो कार्यकालमा निसान कम्पनीले गरेका उपलब्धिहरुको व्याख्या गर्नुभएको थियो । उहाँले कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधिको प्रयोगमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई निसानमाथि साँच्चिकै प्रेम छ ।”

केही वर्षयता निसान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि शेयर लगानी गरेको छ । हाल निसानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत शेयर छ ।

गोउन अझै पनि रेनल्टका प्रमुख तथा निसानको सञ्चालक समितिका सदस्य हुनुहुन्छ ।

गोउनको थुना अवधि अझै आगामी शुक्रबारसम्मका लागि कायम छ ।

जापानको कानुन बमोजिम गलत वित्तीय रिपोर्टिङ गरिएको अवस्थामा १० वर्षसम्म जेल सजाय, ८९ हजार अमेरिकी डलर वा दुबै सजाय हुन सक्दछ ।

प्रकाशित : २४ पुस २०७५, मंगलबार ००:००