८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

फोरममा हाम्रो कम्युनिष्ट पार्टी समाहित



काठमाडौँ, २१ पुस । सङ्घीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ । यहाँ आज आयोजित कार्यक्रममा उक्त पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । समाहित कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताउनुभयो ।

उहाँले पार्टी मजबुद भए मात्र मुलुकको विकास हुने भएकाले विचार मिल्ने पार्टीसँग एकता गरिएको बताउनुभयो । कार्यक्रममा फोरमका सहअध्यक्ष श्रेष्ठले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्नका लागि पार्टी एकताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले समाजवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता गर्दै लैजाने भन्दै नयाँ ढङ्गको पार्टी बनाउनका लागि सिद्धान्त, सङ्गठन र कार्यशैली मिल्ने पार्टीसँग एकता गरिएको बताउनुभयो ।

कार्यक्रममा हाम्रो कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष हीरालाल गजुरेलले फोरमसँग विचार मिल्ने भएकाले एकता गरिएको बताउनुभयो । यसअघि उक्त पार्टीमा प्रकाश अधिकारीको नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्सवादी) एकीकरण भएको थियो । रासस

प्रकाशित : २१ पुस २०७५, शनिबार ००:००