११ चैत्र २०८०, आइतबार । March 24, 2024

Life Style

‘भूमध्यसागरीय क्षेत्रमा आप्रबासी मृत्युदरमा एक तिहाइ कमी’



पेरिस, फ्रान्स, पुस २०।   भूमध्यसागरीय क्षेत्रको बाटो अमेरिका तथा यूरोपेली मुलुकहरूमा प्रवेश गर्ने क्रममा सन् २०१८ मा अघिल्लो बर्षको तुलनामा एक तिहाइले कमी आएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसीआर) ले जनाएको छ ।

यूएनएचसीआरले बिहीबार जारी एक विज्ञप्तिमा सन् २०१८ मा भूमध्यसागरीय क्षेत्रको बाटो यात्रा गर्ने क्रममा ज्यान गुमाएका वा हराएका आप्रबासी शरणार्थीको सङ्ख्या दुई हजार २६२ रहेको उल्लेख छ । यो सङ्ख्या अघिल्लो बर्ष तीन हजार १३९ रहेको थियो ।

यसैगरी उक्त बाटो यूरोप तथा अमेरिका छिर्ने आप्रबासी तथा शरणार्थीको सङ्ख्या सोही अनुपातमा घटेको छ । सन् २०१७ मा उक्त बाटो गरी यूरोप छिर्नेको सङ्ख्या एक लाख ७२ हजार ३०१ रहेकोमा सन् २०१८ मा एक लाख १३ हजार ४८२ शरणार्थीले उक्त बाटो प्रयोग गरी यूरोप छिरेको यूएनएचसीआरले जनाएका छन् ।

भूमध्यसागरीय क्षेत्रको बाटोगरी विभिन्न गन्तव्यमा जाने क्रममा विगत करिब एक दशक यता हजारौँ आप्रबासी शरणार्थी वेपत्ता भएका वा ज्यान गुमाएका तथ्याङ्क रहेको यूएनएचसीआर प्रवक्ता सेलिन स्किमिटले एएफपीलाई बताउनुभयो ।

उत्तर अफ्रिकी मुलुकहरूबाट यूरोप र अमेरिका जाने शरणार्थीले स्पेन हुँदै गन्तव्य तय गर्ने गरेको र यो बाटोलाई गत बर्ष ५५ हजार ७५६ आप्रबासीले प्रयोग गरेको देखिएको तथ्याङ्कमा जनाइएको छ ।

आप्रवासीबारे कट्टर भनिने समूहले इटाली सरकारको नेतृत्व गरेसँगै आप्रबासी शरणार्थीहरूको आगमानमा गतबर्ष नाटकीय रूपमा कमी आएको देखिएको छ । उक्त मार्ग प्रयोग गरी सन् २०१७ मा एक लाख १९ हजार ३६९ व्यक्तिले लिवियाहुँदै इटाली प्रवेश गरेकोमा यो सङ्ख्या सन् २०१८ मा ह्वात्तै घटेर २३ हजार ३७१ मा पुगेको बताइएको छ ।

यी सबै तथ्याङ्कले सन् २०१५ र यसपहिलेका बर्षको तुलनामा निकै शरणार्थीको आवागमनमा ह्वात्तै कमी आएको देखाएका छन् ।

सन् २०१८ मा अफ्रिकी मुलुकहरूबाट सबैभन्दा धेरै शरणार्थी यूरोप आएका र त्यसमध्ये गिनीबाट १३ हजार ६८, मोरक्कोबाट १२ हजार ७४५ र मालीबाअट १० हजार ३२७ रहेका छन् ।

सिरियाबाट नौ हजार ८३९, अफगानिस्तानबाट सात हजार ६२१ र इराकबाट सात हजार ३३३ शरणार्थीले गत बर्ष यूरोप प्रवेश गरेका राष्ट्रसंघीय आप्रवासी संगठनले जनाएको छ ।

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००