१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

प्रथम अन्तर्राष्ट्रिय ब्रेल दिवस मनाइयो



काठमाडौँ, २० पुष । ब्रेललिपिका जन्मदाता लुइस ब्रेलको जन्मदिनका अवसरमा नेपालमा पनि प्रथम अन्तर्राष्ट्रिय ब्रेल दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

सन् १८२४ मा फ्रान्सका लुइस ब्रेलले ब्रेल लिपिको अविष्कार गर्नुभएको थियो । बाल्यकालमा सुइरोले आँखामा घोचेपछि न्यून दृष्टि भएर जीवन व्यतीत गर्न बाध्य लुइसले विश्वका करोडौँ न्यून दृष्टिभएकाहरुका लागि बे्रललिपि अविष्कार गर्नुभएको थियो ।

शुरुमा १२ थोप्लाको बे्रेललिपि अविष्कार गर्नुभएकोमा लुइसले त्यसलाई सरलीकरण गर्दै छ थोप्लाको अक्षर बनाई ब्रेललिपि तयार पार्नुभएको थियो । न्यून दृष्टि भएर पनि उनी एक राम्रो शिक्षक तथा समाज सेवामा तल्लीन व्यक्ति थिए । सन् १८५२ मा महान् अविष्कार लुइसको क्षयरोगबाट निधन भएको थियो ।

फ्रान्समा लुइस ब्रेलको नाममा थुप्रै सङ्ग्रहालयको स्थापना भएको तथा फ्रान्सका प्रस्तावअनुरुप हरेक वर्ष ब्रेल दिवस मनाउन संयुक्त राष्ट्रसङ्घले पारित गरेपछि यो दिवस विश्वभरी मनाउन थालिएको हो । नेपालमा विसं २०१८ मा ब्रेललिपिको प्रारम्भ भएको थियो । यसका लागि नेपालका न्यूनदृष्टि भएका जङ्गबहादुर बोगटीको महत्ष्पूर्ण योगदान छ ।

काठमाडौँ नेत्रहीन सङ्घ, नेत्रहीन युवा सङ्घ नेपाल तथा नेत्रहीन महिला सङ्घको संयुक्त तत्वावधानमा आज यहाँ आयोजित प्रथम अन्तर्राष्ट्रिय ब्रेल दिवस कार्यक्रममा राष्ट्रियसभाका सदस्य प्रकाश पन्तले साङ्केतिक भाषाका रुपमा रहेको ब्रेललिपि न्यूनदृष्टि भएका व्यक्तिहरुका लागि निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै न्यूनदृष्टि भएकाहरुको हकअधिकार र हितका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संसद्ले आगामी फागुनभित्र २१ कानून पारित गर्ने तयारी गरिरहेको चर्चा गर्दै न्यूनदृष्टि भएकाहरुले पनि आफूहरुका लागि आवश्यक कानून निर्माण गर्न सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा सदस्य पन्तले आयोजना गरिएको निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

साहित्यकार प्रभा भट्टराई, दृष्टिविहीन कल्याण सङ्घका अध्यक्ष कुमार थापा, राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश नं ३ का अध्यक्ष अश्विन लम्साल, निबन्ध प्रतियोगिताका संयोजक निश्चल ढुङ्गेल, राष्ट्रिय अपाङ्ग महासङ्घका अनुशासन विभागका प्रमुख टेकनाथ न्यौपाने, काठमाडौँ नेत्रहीन सङ्घका अध्यक्ष भोजराज पाण्डेलगायतले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिको आरक्षण पाँच प्रतिशतमात्र राखिएको बताउँदै यसको आरक्षणमा वैज्ञानिकीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००