१२ चैत्र २०८०, सोमबार । March 25, 2024

पर्यटन

सम्भाव्यता अध्ययन सुरु युद्ध पर्यटकीयस्थल स्थापना गर्ने



रुकुम । जिल्लाको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित ठाटी डाँडामा भएको द्वन्द्वस्थल अवलोकन गरिएको छ । उक्त ठाउँमा जनयुद्धका क्रममा विसं २०५७ चैत १९ गते सरकार र विद्रोही पक्षबीच भीषण युद्ध भएको थियो । युद्धका क्रममा सरकारी पक्षका ३२ र विद्रोही ९माओवादी० पक्षका आठ जनाले ज्यान गुमाएका ठाउँ प्रचारप्रसारको अभावले ओझेलमा परेको थियो ।

पूर्वमन्त्री गणेशमान पुन, काठमाडौँ त्रिभुवन विश्वविद्यालयका पर्यटन, पुरातत्व तथा सांस्कृतिक विभागका प्रमुख उपप्रध्यापक पशुपति न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक स्वस्तिराज भण्डारी, विज्ञ सोमत घिमिरे, इञ्जिनीयर अजय मगर, प्रमुख जिल्ला अधिकारी जिल्लाका जनप्रतिनिधि लगायतले उक्त क्षेत्रलाई युद्ध पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा उक्त टोलीले रुकुमकोटको भू–बनोट र ऐतिहासिक हिसाबले पनि पर्यटकका लागि निकै महत्वपूर्ण जनाएको थियो । स्थानीयवासीसँगको छलफलका क्रममा द्वन्द्वस्थलमा सङ्ग्रहालय निर्माण गर्न उनीहरूले आग्रह गरेकामा त्यसको सम्भाव्यता अध्ययनलाई पनि अगाडि बढाइने पूर्वमन्त्री गणेशमान पुनले बताउनुभयो ।

युद्धस्थलमा एउटा घरको भग्नावशेष मात्र देख्न सकिन्छ । जिविसको आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालयको प्रविधिक सहयोग र कमल दह प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण केन्द्रको निर्मानिर्माण सहयोगमा चार वर्षअघि शहीद स्मारक निर्माण गरिएको थियो । रू ६५ लाखको लागतमा बनेको उक्त स्मारकमा युद्धमा सहादत प्राप्त गर्ने दुवै पक्षका शहीदको नाम लेखिएकाले त्यहाँ पुग्ने जोकोहीले युद्ध भएको कहिले र क–कसले ज्यान गुमाएका थिए भन्ने कुरा सजिलै थाहा पाउन सक्छन् ।उक्त टोलीले सिस्ने गाउँपालिकास्थित रुकुमकोटका अन्य पर्यटकीयस्थलको पहिचान पनि गरेको थियो ।
–––

प्रकाशित : २० पुस २०७५, शुक्रबार ००:००