८ बैशाख २०८१, शनिबार । April 20, 2024

अर्थ

विकास निर्माणको कामले तिव्रता पाउँछ : प्रम ओली




काठमाडौं १८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन् ।
झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधी र प्रशासकीय अधिकृतहरुसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कस्ले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए । “यस्ता द्विविधाले पुराना भन्दा नयाँ नयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो ” प्रधानमन्त्री ओलीले भने “अब कस्ता योजना कस्ले सञ्चालन गर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तिव्रताका साथ अगाडि बढ्छन् ।”
प्रधानमन्त्री ओलीको गृह नगर दमकका प्रसासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले दमकमा सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाहरुको प्रगति बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । दमक सभाहल निर्माणाधिन अवस्थामा रहेको, पशुहाट बजार केन्द्र सम्पन्न भएको,दमक भ्यू टावरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको यसका लागि ५ विगाहा क्षेत्रफल जग्गा नगरपालिकाको नाममा आइसकेको उल्लेख छ । दमक औद्योगिक क्षेत्रको मुआब्जा वितरणको तयारी भइरहेको तिम्सिनाले जानकारी गराउनुभयो । यसैगरी दमक ३ मा निर्माण हुने विश्व कै अग्लो बुद्धको मूर्तीका लागि ७ विगाहा जग्गा नगरपालिकाको नाउँमा दर्ता भइसकेको , २० विगाहा जग्गा प्राप्तीका लागि झापा जिल्लाबाट सिफारीस गरी पठाएको तिम्सिनाले उल्लेख गर्नुभयो । सो आयोजनाको डिपिआर तयार भएको र दमक नगरपालिकाले जग्गा व्यवस्थापनका लागि आवश्यक समन्वय र पहल गर्न नगर प्रमुखको संयोजकत्वमा एउटा समिति बनाएको तिम्सिनाले जानकारी गराए ।
यसैगरी दमक नगरपालिकाले सञ्चालन गरेका नगरपालिका भवन, शहिद बनबाटिका, घण्टाघर सहितको रोज गार्डेन, विपन्नका लागि नमुना आवास गृह निर्माण, सुनचाँही टावर निर्माण आदिका बारेमा भएको प्रगति तिम्सिनाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए ।
कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा –झापा सडक, लक्ष्मीपुर– घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गरे । पोख्रेलले कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा १ करोड रुपैंया विनियोजन गरिदिन माग गर्नुभएको छ । यसैगरी अर्जुनधारा नगरपाकिलाका प्रमुख हरी रानाले पनि नगरको विकास निर्माणका बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधीहरुले राखेका मागका बारेमा आफू सकारात्मक रहेको बताए ।
प्रतिनिधी मण्डलमा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल र देवेन्द्र दाहाल साँसद पवित्र निरौला खरेल, पूर्व सांसद दिपक कार्की, जिसस झापाका संयोजक सोमनाथ पोर्तेल दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेकपाका नेताहरु चिन्तन पाठक, गगन पुरी लगायत सहभागी थिए ।

प्रकाशित : १८ पुस २०७५, बुधबार ००:००