६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

कानुन कार्यन्वयन गर्न जनताको चेतानास्तर बढाउनुपर्छ



काठमाडौं, १३ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतना स्तरमा बृद्धि हुन जरुरी रहेको बताउनुभएको छ ।
समावेशी फाउण्डेशनले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले लामो संघर्षपछि संविधानसभाबाट निमार्ण भएको संविधानले दलितलगायत सबै समुदायलाई पर्याप्त अधिकार दिएको जानकारी दिनुभयो । ‘संविधान र त्यसअनुसार बनेका मौलिक र अन्य कानुनले जनतालाई पर्याप्त अधिकार दिएको छ,’ उहाँले भन्नुभयो, ‘संविधान र ऐनको पूर्ण कार्यन्वयन गर्न जनतालाई ती अधिकारबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले संसदले थुप्रै नयाँ विशेषता सहितका मौलिक हकसम्बन्धी कानुन निमार्ण गरिसकेको बताउँदै अब बन्ने ऐन कार्यन्वयन गर्न देशको क्षमता बृद्धि आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले निश्चित समयभित्र मौलिक हकसम्बन्धी कानुन निमार्ण गर्नुपर्ने भएकाले संसदमा पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्नुभयो । ‘आगामी दिनमा संसदले पर्याप्त छलफलमार्फत कानुन निमार्ण तथा समयअनुसार परिमार्जन गर्नेछ,’ उहाँले भन्नुभयो ।
दलित समुदायका सांसद तथा अधिकारकर्मी सहभागी संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकराले ल्याएको विधेयकहरुमा दलित  तथा सिमान्तकृत समुदायको सुझाव र संशोधन प्रस्तावको समिक्षात्मक अन्तरक्र्रिया कार्यक्रममा राष्ट्रिय सभाका उपसचिव उदवीर नेपालीले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सांसदलगायत अन्य सहभागीले त्यसबारे सुझाव र धारणा पेश गर्नुभएको थियो ।

प्रकाशित : १३ पुस २०७५, शुक्रबार ००:००