१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

ग्लोबल

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र चीनका राजदूतबीच शिष्टचार भेटघाट



काठमाडौं, ११ मंसिर । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टचार भेटघाट गर्नुभएको छ । आफ्नो दुई वर्षे कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका राजदूत होङले मंगलबार सिंहरदबारमा अध्यक्ष तिमिल्सिनासँग बिदाई भेट गर्नुभएको हो ।

शिष्टचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले राजदूतको दुई वर्षको कार्यकाल सफल भएकोमा बधाई व्यक्त गर्नुभयो । उहाँले राजदूत होङको कार्यकालमा नेपालले तीन तहको निर्वाचन सम्पन्न गरी अस्थिरताको अन्त्य सफल भएको बताउनुभयो । निर्वाचनपछि स्थायी सरकार निमार्ण गरी समृद्धितर्फ अगाडि बढेको नेपाललाई चीनको साथ र सहयोग उल्लेखनीय रहेको जानकारी दिनुभयो ।

‘नयाँ सरकार निमार्णपछि नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र थुप्रै मन्त्रीहरुले चीनको भ्रमण गर्नुभएको छ,’ तिमिल्सिनाले भन्नुभयो, ‘ती उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच व्यापार र पारवाहन सम्झौतालगायत थुप्रै कार्यक्रम अगाडि बढाएको छ । त्यस्तै चिनियाँ उच्च राजनीतिक तथा सरकारी टोलीले पनि यहाँकै कार्यकालमा नेपाल भ्रमण गर्नुभएको छ । यसकारण यहाँको कार्यकाल सफल र ऐतिहासीक भएको मैले विश्वास लिएको छु ।’

राजदूत होङकै कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने चर्चा चलेको बताउँदै उहाँले छिट्टै राष्ट्रपति सीको भ्रमण हुने अपेक्षा व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको संसद र चीनको नेसनल्स पिपुल्स कांग्रेसबीच पनि सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै आगामी दिनमा अनुभव आदन˗प्रदानका लागि भ्रमण आवश्यक रहेको धारणा राख्नुभयो ।

भेटमा राजदूत यू होङले आफ्नो कार्यकालमा नेपालले संविधानमार्फत प्राप्त गरेको ऐतिहासिक परिवर्तनलाई कार्यान्वयन गर्न सफल भएको बताउनुभयो । उहाँले छोटो समयमा तीन तहको निर्वाचन सम्पन्न गरी स्थायी सरकार निमार्ण गरेको नेपाल सरकार, राजनीतिक दल र जनताले अन्तर्राष्ट्रिय समुदायको मन जित्न सफल भएको जानकारी दिनुभयो ।

‘स्थायी सरकार निमार्ण गरी नेपाल विकासको बाटोमा अगाडि बढेको छ । यसमा म खुसी छु,’ उहाँले भन्नुभयो, ‘निर्वाचनपछि गठन भएको नेपालको संघीय संसद महत्वपूर्ण संरचना हो । त्यसैले चिनियाँ कंग्रेस पनि नेपालको संसदसँग सहकार्य गर्न तयार छ ।’

राजदूत होङले अध्यक्ष तिमिल्सिनालाई चीनको नेसनल्स पिपुल्स कांग्रेसको भ्रमण गरी अनुभव आदान प्रदान गर्न निम्तासमेत गर्नुभयो ।

प्रकाशित : १२ मंसिर २०७५, बुधबार ००:००