१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

अमेरिकामा मगरको चाड



मेरिल्याण्ड । माघे सक्राती चाडको अवसरमा अमेरिकामा रहेका मगर समुदायले शुभकामना आदनप्रदान संगै चाड मनाएका छन् ।

मेरिल्याण्डको बाल्टिमोर शहरमा भएको भेलामा प्रमुख अतिथि पुर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी) पार्वती थापामगर त्यसैगरी अन्य अतिथिहरुमा भर्जिनिया, मेरिल्याण्ड र पेन्सिल भेनिया राज्यका लागि नेपाल सरकारका तर्फबाट सद्भावनादुत प्रेमराजा महत, मगर एसोसिएसन अफ अमेरिकाका अध्यक्ष रुद्रबहादुर आले लगायतको उपस्थिति थियो ।

अथितिहरुबाट शुभकामना मन्तब्य भई सुरु भएको कार्यक्रममा क्रमशः विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएका थिए । यहाँ मगरको मौलिक नृत्य, गायन, खानाको परिकारहरु आकर्षक थियो । जस अनुसार कौडा नाच, नौमती बाजा, सालैजो गीत तथा नृत्यहरु प्रदर्शन भएको थियो । सक्रातीमा खाने मौलिक परिकारहरुमा तरुल, बाह्रबटुक, सेलरोटी लगातय थिए । त्यसैगरी लोक गायीका मुना थापामगर र राजन ठकुरीले विभिन्न गीतहरु गाएर मनोरन्जन दिलाएका थिए । धेरै मगरहरु मौलिक पहिरनमा उपस्थित हुँदा आकर्षण थपिएको थियो ।

भेलामा वासिङटन डिसी, मेरिल्याण्ड, भर्जिनिया गरी तीनवटा राज्यबाट ३ सयाको हाराहारीमा मगर समुदाय उपस्थित भएका थिए । विषेश गरी माघको पहिलो हप्तानै मनाउनु पर्ने यो चाड अन्य शहरमा आयोजना हुने कार्यक्रमको समय तालिका मिलाउँदा बाल्टिमोरमा भने तेश्रो हप्ता मात्र भएको हो ।

यस अघि न्युयोर्क, न्युजर्सी लगायत अमेरिकाको दर्जनौं ठाउँहरुमा यस्तो कार्यक्रम गरिसकेका छन् । कार्यक्रम आयोजक समिति तथा डिसी, मेरिल्याण्ड, भर्जिनिया च्याप्टर मगर एसोसिएसनका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष शेरबहादुर सारुमगरको सभापतित्वमा भएको थियो ।

प्रकाशित : २७ माघ २०७४, शनिबार ००:००