४ बैशाख २०८१, मंगलबार । April 16, 2024

मुख्य खबर

निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र आइसक्नेः प्रमुख आयुक्त यादव



काठमाडौँ, १ मंसिर (रासस) : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ ।

मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो, “प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ ।”

शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज यहाँ आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताउनुभयो ।

उहाँले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको छ भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय हुन्, अब कार्यान्वयनको खाँचो मात्र रहेको उल्लेख गर्नुभयो ।

“अभिभावक, शिक्षक÷शिक्षिकाले आफ्ना बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस, ¥यालीमा जानु हुँदैन, विद्यालयमा यस किसिमका गतिविधि पनि गर्नुहुन्न भन्ने कुरालाई प्रभावकारी रुपमा भन्नुपर्छ”, उहाँले भन्नुभयो ।

विसं २०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणामा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाएका थिए । ११ बुँदे अपिलमा विद्यालय परिसरभित्र तथा पठनपाठनलाई असर पर्ने गरी विद्यालय आसपासमा राजनीतिक गतिविधि नगरौँ, विद्यालय उमेर समूहका बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस तथा ¥यालीमा स्वयंसेवकका रुपमा प्रयोग नगरौँ, विद्यालय हाताभित्र हातहतियार प्रदर्शन गर्न, भण्डारण गर्न पूर्णरुपमा निषेध गरौँ, विद्यालयको स्रोत साधन राजनीतिक दलका लागि प्रयोग नगरौँलगायत छन् ।

ती प्रतिबद्धतापत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्माले स्थानीय निकायका निर्वाचनमा १८ जिल्लामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचनमा विभिन्न सन्दर्भमा बालबालिकाको प्रयोग भएको आयोगको अनुगमनमा भेटिएको जानकारी दिनुभयो ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निर्वाचनका समयमा विद्यालय र बालबालिकालाई कम प्रभाव पर्न विभागले ध्यान दिएको चर्चा गर्दै निर्वाचनका समयमा दिइने बिदालाई हिउँदे÷बर्खे बिदाबाट कटौती गर्न निर्देशन दिइएको बताउनुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले वर्षमा २२० दिन विद्यालय खुल्नुपर्छ र १९२ दिन निर्धक्करुपमा बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने कुरामा मन्त्रालय सचेत रहेको चर्चा गर्दै प्राकृतिक र मानव सिर्जित समस्याले विद्यालयको पठनपाठनमा आधा आउने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकाका प्राडा जगत तिमल्सिना, नेकपा –एमाले)का सावित्री भुसाल, माओवादी केन्द्रका नारायण शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयन्त लामाले विद्यालयलाई शान्ति क्षेत्र बनाउन आफूृहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

सो अपिल जारी गर्ने संस्थाहरुमा शिक्षाका लागि राष्ट्रिय अभियान, बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान, नेशनल एक्सन एण्ड कोओर्डिनेटिङ ग्रुप, शिक्षा पत्रकार सञ्जाल, शिक्षा पत्रकार समूह, विद्यालय व्यवस्थापन समितिलगायतका छन् ।

सो अवसरमा शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहालले निर्वाचनका समयमा बालबालिकालाई प्रयोग गर्न नहुने आचारसंहितालाई दलहरुले उल्लंघन गरिरहेको चर्चा गर्नुभयो ।

प्रकाशित : १ मंसिर २०७४, शुक्रबार ००:००