१ बैशाख २०८१, शनिबार । April 14, 2024

मुख्य खबर

ख्रीष्टियन धर्म परिवर्तन गर्ने पक्षमा छैन



काठमाडौँ, १६ कात्तिक (रासस) : राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले ख्रीष्टियन कसैलाई पनि जबर्जस्ती धर्म परिवर्तन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो–आ–आफनो धर्म मान्ने अधिकारलाई खोसेर जबर्जस्ती धर्म परिवर्तन गर्ने मान्यताको विरोध गर्दछ । तर नागरिकको धर्म छान्ने अधिकारलाई पनि कसैले खोस्नु हुँदैन ।

हालै संसद्बाट पारित भएको विधेयकलाई लिएर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ख्रीष्टियनले धर्म प्रचार गर्न पाउँदैन, उक्त कानुन ख्रीष्टियनमाथि लक्षित छ भनी आफूहरुविरुद्ध चलिरहेको अफवाह गलत भएको बताउँदै गहतराजले हाल प्रचलित मुलुकी ऐनमा भएको व्यवस्था ‘धर्म परिवर्तनलाई दण्डनीय अपराध’ परिभाषित गरिएको स्मरण गराउँदै त्यसमा आफूहरुको समर्थन रहेको बताउनुभयो ।

उहाँले हिन्दू, बौद्धसहित १० वटा धर्मावलम्बी भएको देशमा उक्त नयाँ कानून नागरिकको इच्छानुसार धर्म ग्रहण गर्नसक्ने, धर्म प्रचार गर्ने अधिकारलाई वञ्चित नगरेको तर एउटा धर्मावलम्बीले अर्कोलाई जबर्जस्ती धर्म परिवर्तन गर्न नहुनेमा जोड दिएको बताउनुभयो ।

महासंघका प्रवक्ता सागर बैजुले ख्रीष्टियन कहिल्यै पनि धर्म परिवर्तन गर्नुपर्छ भन्ने मान्यता नराखेको स्पष्ट पार्नुभयो । महासचिव पद्मनाथ पराजुलीले आफूहरुविरुद्ध गलत प्रचार भएको भन्दै बहुधार्मिक राज्य नेपालमा अल्पसंख्यक ख्रीष्टियनमाथि भेदभावपूर्ण व्यवहार गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुधार्मिक राज्य भएको स्पष्ट अभिव्यक्त भएको र संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भनी उल्लेख भएको स्मरण पनि गराइएको छ ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहिबार ००:००