१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

अशोककालीन चारुमति स्तुप जीर्ण अवस्थामा



काठमाडौँ, १ कात्तिक (रासस) : काठमाडौँ महानगरपालिका–७ स्थित ऐतिहासिक चारुमति स्तुप लामो समयदेखि मर्मत हुन नसक्दा हाल जीर्ण अवस्थामा पुगेको छ ।

धन्दो चैत्य भनिने स्तुप आसपास रहेको मूर्ति, माने, अग्नि कुण्ड तथा पर्खाललगायत भौतिक संरचनाको अवस्था कमजोर हुँदै गइरहेको छ ।

अशोककालीन दुई हजार ३०० वर्ष पुरानो इतिहास बोकेको उक्त स्तुपलाई धन्दो चैत्यसमेत भनिन्छ । धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपले काठमाडौँ उपत्यकाको महत्वपूर्ण मानिने सो स्तुप बौद्ध धर्मावलम्बीका लागि तीर्थस्थल तथा पर्यटकका लागि आकर्षक सम्पदास्थलका रुपमा छ ।

लामो समयदेखि स्थानीय जनप्रतिनिधि नहुँदा त्यस क्षेत्रको संरक्षणमा समस्या भई चारुमती बुद्धिष्ट मिसन नेपालले विगत दुई दशकदेखि त्यस क्षेत्रको संरक्षण तथा संवद्र्धनमा सहयोग गर्दै आएको छ ।

स्तुप परिसरभित्र रहेका कलात्मक प्रस्तरकलालाई सफासुग्घर गर्नुपर्ने देखिएको छ भने अग्नि कुण्डको तत्काल पुनःनिर्माण एवं सुधार गर्नुपर्ने अवस्था छ ।

उक्त मिसनका अध्यक्ष भिक्षु तपस्सी धम्मले प्राचीन सम्पदास्थलकारुपमा परिचित त्यस क्षेत्रको राष्ट्रियस्तरबाट संरक्षण नभएकाले त्यहाँको कलात्मक मौलिकता लोप हुनसक्ने खतरा रहेको बताउँदै त्यसलाई चाँडो मर्मत तथा सम्भार गर्न आग्रह गर्नुभयो ।

वडाध्यक्ष शुद्धकुमार डंगोलले स्तुपको जीर्णोद्धारका लागि सरोकारवाला पक्षसँग छलफल भइरहेको जानकारी दिँदै विभिन्न दातृ संघ संस्थासँग समन्वय र सहकार्य गरी मर्मत गरिने बताउनुभयो ।

प्रकाशित : १ कार्तिक २०७४, बुधबार ००:००