११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

तीनजुरे जिल्लाकै नमूना सामुदायिक सिकाइ केन्द्र



तेह्रथुम, २६ असोज । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ स्थित तीनजुरे सामुदायिक सिकाइ केन्द्रलाई जिल्लाकै नमूना सिकाइ केन्द्र बनाउने अभियान शुरु भएकोे छ ।

जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ बाट सिकाइ केन्द्रलाई जिल्लाकै नमूना बनाउने अभियान थालेको हो ।

सो सिकाइ केन्द्रलाई अन्य केन्द्रको तुलनामा प्राविधिक उपकरण, पुस्तकालय, फर्निचर व्यवस्थापनलगायत सुविधा थप गरी नमूना सिकाइ केन्द्र बनाउन थालिएकोे जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताउनुभयो । कार्यालयले सो सिकाइ केन्द्रका लागि पहिलो वर्ष रु आठ लाख उपलब्ध गराएको छ ।

सो बजेटबाट अहिले दुई थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, स्क्यानर, प्रोजेक्टर, फर्निचर, कुर्सी, दराज, कार्यालय व्यवस्थापन तथा पुस्तकालय व्यवस्थापन गरिएको तीनजुरे सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष विपिन निङलेकुले बताउनुभयो ।

अभियानअन्तर्गत नै सिकाइ केन्द्रले जिल्लामा रहेका धार्मिक तथा सांस्कृतिक महत्वका स्थलको पहिचानलाई प्रकाशनमा ल्याएर प्रचारप्रसारमा समेत भूमिका खेल्नेछ ।

अहिले केन्द्रले सञ्चालन गरेको पुस्तकालयमा राजनीति, विज्ञान, भूगोल, साहित्यलगायत विविध क्षेत्रका ज्ञानवद्र्धक ५०० पुस्तक रहेको अध्यक्ष निङलेकुले बताउनुभयो । नमूना सिकाइ केन्द्र बनेपछि यहाँका बासिन्दाले एकै ठाउँबाट इमेल, इन्टरनेट र पुस्तकालयको सुविधा पाउने भएका छन् । यसले घट्दो पठन संस्कारलाई जोगाउन सहज हुने स्थानीयवासीको बुझाइ छ ।

जिल्लामा हाल २१ वटा सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा रहेका छन् । ती सिकाइ केन्द्रमार्फत अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत निरन्तर शिक्षा अभियान सञ्चालन भइरहेको छ । ती सिकाइ केन्द्रले सञ्चालन अनुदानस्वरुप वार्षिक रु एक लाख पाउँछन् भने प्रस्तावका आधारमा रु एक लाख ५० थप अनुदानसमेत दिइने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयले जिल्लाका सिकाइ केन्द्रमध्ये उत्कृष्ट तीनवटालाई पुरस्कृतसमेत गरेको छ ।

संक्रान्ति बजारको डाँडागाउँ सामुदायिक सिकाइ केन्द्र, सम्दुको सुनगाभा सामुदायिक सिकाइ केन्द्र र फाक्चामाराको तमोर सामुदायिक सिकाइ केन्द्रले जिल्लाकै उत्कृष्ट सामुदायिक सिकाइ केन्द्रका रुपमा रु दुई÷दुई लाख पुरस्कार पाएका छन् । फाक्चामाराको तमोर सामुदायिक सिकाइ केन्द्र पूर्वाञ्चलकै तेस्रो उत्कृष्टसमेत भएको थियो ।

प्रकाशित : २६ आश्विन २०७४, बिहिबार ००:००