१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

थारु गाउँमा दशैँको रमझम, सखिया नाचले गाउँघर गुञ्जयमान



 

गुलरिया, बर्दिया, ९ असोज (रासस) ः पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ ।

प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ । दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाचले गाउँघरको परिवेश नै बेग्लै हुने गर्छ । ढिक्री पुज्ने ढिक्रहवा र टीकाका दिन थारु युवतीले
रातभरि सखिया नाच नाच्ने गर्छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा हुन्छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैँको
गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनिया कम्मर म¥काईम¥काई नाच्ने गर्छन् ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्छ । दशैँमा थारु समुदायले सामूहिकरुपमा टीका ग्रहण गर्ने गर्छन् । सखिया नाच नाच्दै अभिभावकसँग सामूहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैँ मनाउने गर्छन् । दशैँले एकअर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ ।

थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसलाई
नाचका रुपमा नचनियासँगै गाउने काम भने दशैँमा हुने गर्छ । गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ । प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा सखिया नाच्ने प्रचलन छ । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सतको समयमा सखिया नाच नाच्ने गर्छन् ।

पूर्वका थारुले सखिया नाच नाच्ने गर्दैनन् । उनीहरु दशैँ पनि खासै मनाउँदैनन्
। तर पश्चिम नेपालका थारुले दशैँलाई धुमधामका साथ मनाउँछन् ।

प्रकाशित : ९ आश्विन २०७४, सोमबार ००:००