१० चैत्र २०८०, शनिबार । March 24, 2024

मुख्य खबर

दृष्टिविहीन गिटी कुटेर परिवार पाल्दै



बेनी (म्याग्दी), २७ भदौ । बेनी नगरपालिका– २ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको एउटा हातमा लठ्ठी र अर्को हातमा सधैँ हथौडा हुन्छ ।

एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उहाँको ठूलै जिम्मेवारी छ । आर्थिक अवस्था कमजोर तथा अरु कुनै काम गर्ने सीप नहुँदा दर्जीले गिटी कुटेर गुजारा चलाउँदै आउनुभएको छ ।

श्रीमती र छोराको सहारामा मजदुरीका लागि पुग्ने गरेका दर्जी गाउँकै सार्वजनिक जग्गामा छाप्रोमा बस्नुहुन्छ । दर्जीको अवस्था देखेका र हाल विदेशमा रहनुभएका प्रदीप सुवेदी, भूमिराज कार्कीलगायतले रु एक लाख ४० हजार संकलन गरी उहाँलाई सहयोग गर्नुभएको हो । दर्जीका दुई छोरा १२ र ६ कक्षामा अध्ययरत छन् ।

“गुजरा चलाउन गिटी कुट्छु । मेरो कमाइले घरमा बिहानबेलुकी चुलो बल्छ,” दर्जीले भन्नुभयो । छोराको पढाइका लागि बेनीका नरेश श्रेष्ठले वार्षिक रु १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएपछि दर्जीलाई केही राहत मिलेको छ । उहाँको कान्छो छोराको आँखा पनि कमजोर छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्रबाट प्राप्त हुने भत्ताले कान्छो छोराको आँखाका लागि नियमित औषधिको व्यवस्था गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

सार्वजनिक जग्गामा बनाएको छाप्रो नगरपालिकाले सडक विस्तार गर्न भत्काउने भएपछि दर्जी चिन्तित बन्नुभएको छ । “छाप्रो भत्काएपछि मेरो उठिवास हुन्छ,” उहाँले भन्नुभयो । दृष्टिविहीन भएकाले गिटी कुट्नबाहेक अरु केही गर्न नसक्ने दर्जीले सहयोगको याचना गर्नुभएको छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००