८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

सुदूरपश्चिममा हट्यो विद्युत् भोल्टेजको समस्या



काठमाडौँ, २७ भदौ । नेपाल विद्युत् प्राधिकरणले कैलालीको लम्कीमा रहेको सवस्टेशन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरेपछि सुदूरपश्चिम क्षेत्रमा रहेको विद्युत् प्रणालीमा रहेको भोल्टेजको समस्या समाधान भएको छ ।

प्राधिकरणले सोमबार लम्कीस्थित सवस्टेशनलाई १३२÷३३ केभी क्षमतामा स्तरोन्नति गरेको हो । आठ एमभीए क्षमतामा रहेको ट्रान्सफर्मरलाई पनि १६ एमभीएमा रुपान्तरण गरिएको छ ।

लम्कीमा रहेको ट्रान्सफर्मरको स्तरोन्नति गरिएपछि टीकापुर र लम्की क्षेत्रमा भइरहेको अघोषित विद्युत्भार कटौती अन्त्य हुने भएको छ । भोल्टेजको समस्याका कारण सुदूरपश्चिममा देखिएको समस्या समाधान भएको प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुख तारानाथ शर्माले जानकारी दिनुभयो ।

ट्रान्सफर्मरको अपग्रेड र १३२÷३३ केभी क्षमताको सवस्टेशनमा स्तरोन्नति गरेपछि ती स्थानमा हुने भोल्टेज तथा ओभरलोडको समस्या समाधान भएको शर्मा बताउनुहुन्छ । सुदूरपश्चिम क्षेत्रमा प्राविधिक समस्याका कारण प्राधिकरणले वितरण गरेको विद्युत् प्रणालीमा नियमित समस्या आउने गरेपछि राजनीतिक नेतृत्व र उच्च अधिकारीले सधैँ प्राधिकरणको नेतृत्वलाई ध्यानकर्षण गराउँदै आएका थिए ।

प्राधिकरणले ती स्थानमा विद्युत्भार कटौतीको अन्त्य गरेको घोषणा गरे पनि हाफ लाइन आउने, बिना कुनै सूचना लाइन काटिने जस्ता समस्या रहेका थिए । धनगढीका उद्योगी तथा व्यवसायीले अघोषित विद्युत्भार कटौती हटाइदिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित तथा मौखिक रुपमा आग्रह गरेका थिए । स्थानीय उद्योगी तथा व्यवसायीको आग्रहपछि दाहालले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विशेष पहलमा अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख शर्मालगायतको प्राविधिक टोलीले सोमबारदेखि समस्या समाधान गरेको छ । केही दिन पहिले स्थलगत अवलोकनमा पुगेका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले एकाध दिनमा समस्या समाधान हुने बताउनुभएको थियो ।

मुलुकको केन्द्रीय प्रसारण लाइनको क्षमता विस्तार नभएको र भारतबाट आएको विद्युत्को भोल्टेज तलमाथि हुँदा सबैभन्दा बढी मारमा भीमदत्तनगर, धनगढी, नेपालगञ्जलगायतका शहर मारमा पर्दै आएका थिए । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ट्रान्सफर्मर र सवस्टेशनको क्षमता विस्तारपछि रातको समयमा खेर जाने विद्युत् समेत सुदूरपश्चिम र आसपासको क्षेत्रमा पठाउन सकिने बताउनुभयो ।

रातको समयमा बढी हुने विद्युत् कोहलपुर पश्चिम पठाउन रहेको समस्यासमेत समाधान भएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले सबै क्षेत्रमा गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषय नै हालको प्रमुख चुनौती रहेको भन्दै क्षमता विस्तार तथा अन्य प्राविधिक तयारी समेत युद्धस्तरमा अगाडि बढेको बताउनुभयो ।

विशेषगरी भारतबाट ३३ केभी क्षमतामा आयात गरिएको विद्युत्मा भोल्टेजको समस्या बढी आउने गरेको छ । बढी भार हुने तथा कुन बेला बत्ती जान्छ भन्ने नै थाहा नहुने अवस्थाबाट सुदूरपश्चिमले केही हदसम्म मुक्ति पाएको अत्तरिया क्षेत्रीय प्रमुख शर्माले बताउनुभयो ।

यस्तै वितरण प्रणालीका अधिकांश प्रसारण लाइन ११ केभीको रहेको र लामो दूरीमा समेत हुने भएकाले पनि केही स्थानमा अझै समस्या रहेको छ । प्राधिकरणले त्यस्तो समस्या हटाउन अभियानकै रुपमा ट्रान्सफर्मर तथा सवस्टेशनको क्षमता विस्तार गर्ने कार्य शुरु गरेको जनाएको छ ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००