९ चैत्र २०८०, शुक्रबार । March 22, 2024

मुख्य खबर

एशियाली सभ्यताको संरक्षणमा जोड



काठमाडौँ, २७ भदौ । एशियाली सभ्यता, संस्कृतिको नेपाली समाज विकास क्रममा महत्व रहेकाले यसको संरक्षणमा विज्ञहरुले जोड दिनुभएको छ ।

‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’ले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा एशियाली सभ्यताको मुख्य आधार ग्रिस सभ्यता भएको र मानव जीवनको विकासमा यस पद्धतिले महत्वपूर्ण भूमिका राख्ने सहभागी वक्ताले विचार व्यक्त गर्नुभयो । एशियाली सभ्यतामा नैतिकता, मेलमिलाप, सद्भाव, प्रेमलगायतका विषयवस्तुलाई महत्व दिइएको उहाँहरुले बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य डा केबी रोकायाले एशियाली सभ्यता कमजोर भएकाले कोरियाली प्रायद्वीपमा युद्धको सम्भावना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै सो युद्ध बढ्दै गएमा तेस्रो विश्वयुद्धलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

इतिहासविद् डा सुरेन्द्र केसीले धार्मिक गुरुले राम्रो उपदेश दिन नसक्दा नैतिकविहीन समाजको विकास भएको विचार व्यक्त गर्दै क्रिश्चियन धर्मावलम्बीहरुले नेपाली धर्म संस्कृतिमात्र नभई नेपाललाई नै सिध्याउने काम गरिरहेकाले सचेत हुन आग्रह गर्नुभयो ।

संस्कृतिविद् डा शास्त्रदत्त पन्तले क्रिश्चियन धर्मको फैलावटका कारण नेपाली धर्महरु संकटमा पर्दै गएको बताउँदै सरकारले धर्म परिवर्तनलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

खस–क्षेत्री समाजका अध्यक्ष विष्णु खड्काले निधारमा लामो टीका लगाएरमात्र धर्म र संस्कृतिको जगेर्ना गर्न नसकिने उल्लेख गर्दै गौतमबुद्धभन्दा पहिलेको धर्मको अध्ययन गर्नुपर्ने बताउनुभयो ।

केन्द्रका अध्यक्ष विष्णुराज पाण्डेले धार्मिक द्वन्द्वकै कारण भारत र पाकिस्तान विभाजित बनेको स्मरण गर्दै एशियाली सभ्यताको विकास गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रकाशित : २७ भाद्र २०७४, मंगलबार ००:००