७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

अनियमिततापछि आयोजनाको काम रोकियो



नुवाकोट, २६ भदौ । विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् ।

करिब रु ८१ करोडको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको माग गर्दै उपभोक्ताले काम रोकेका छन् ।

ठेकेदार कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिले गरिरहेको पाइप विस्तारअन्तर्गत विदुर नगरपालिका–५ पीपलटारसहित आसपासको स्थानमा तोकिएको भन्दा कम मोटाइको पाइप प्रयोग गरेको र पाइप पुर्न कम गहिराइएको खाल्डो बनाएको भन्दै स्थानीय उपभोक्ताले विरोध जनाएका छन् ।

तल्लो पीपलटारका बासिन्दाको घरघरमा विस्तार गर्न बिछ्याइरहेको पाइप १० किलो प्रेसरको जडान हुनुपर्नेमा छ किलो प्रेसरको मात्र जडान गरेको उपभोक्ता मानबहादुर डंगोलले बताउनुभयो । “पाइप बिछ्याउन ९० सेन्टिमिटरको गहिराइको खाल्डो खन्नुपर्ने भनिएको थियो, अहिले आधा कम गहिराइको मात्र खनिएको छ,” उहाँले भन्नुभयो, “कामको पारदर्शीता समेत छैन, अनियमितताबारे , छानबिन हुनुपर्छ ।”

तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत ठेकेदार कम्पनी टुण्डीमार्फत भइरहेको कामको पारदर्शिता नभएको र सञ्चालन कार्यक्रमबारे उपभोक्तालाई नै जानकारी नभएको उपभोक्ता एवं नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख नारायणमान डंगोलले बताउनुभयो ।

विदुर नगरपालिकाका विभिन्न वडाका करिब पाँच हजार ८०० घरधुरीमा खानेपानी सेवा पु¥याउने लक्ष्यसहित भइरहेको काम उपभोक्ताको सहमतिअनुसार सञ्चालन गर्ने तथा त्यसको जानकारी उपभोक्तालाई दिइने आयोजनाले जनाएको छ । निर्माण भइरहेको आयोजनाको सुपरिवेक्षणको जिम्मेवारी पाएको टेक–आइकन ज्वाइनभेञ्चरका परामर्शदाता शरणहरि ज्ञवालीले तोकिएको मापदण्ड र पूर्व सहमतिअनुसार काम नभएको प्रमाणसहितको गुनासो आएकाले छानबिन गर्नुपर्नेमा जोडदिनुभयो ।

“उपभोक्ताले उठाएका विषय जायज छन्,” उहाँले भन्नुभयो ।

एशियाली विकास बैंक, नेपाल सरकार, नगर विकास कोषको लगानी रहेको सो आयोजना अबको एक वर्षभित्र पूरा गर्ने गरी निर्माण भइरहेको छ । आयोजनाको मुहानदेखि मूल ट्याङ्कीसम्मको पाइपलाइन विस्तार, मुख्य र सहायक ट्याङ्की निर्माण, ट्याङ्कीदेखि उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारको काम जारी छ ।

प्रकाशित : २६ भाद्र २०७४, सोमबार ००:००