१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

राज्यमन्त्री प्रसाँईद्वारा कृषि गोदामघर निरीक्षण



भद्रपुर, २२ भदौ । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताउनुभएको छ ।

झापाको कचनकवलस्थित पोष्ट हार्भेष्ट सेन्टर (गोदाम घर) तथा कष्टम हायरिङअन्तर्गतका कृषि औजार एवं उपकरणको बुधबार निरीक्षण एवं अवलोकन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कृषि राज्यमन्त्री प्रसार्इंले परियोजनाले स्थानीयस्तरमा भविष्यमा ठूलो योगदान दिने चर्चा गर्दै एक वर्षको अवधिमा सुपरजोन कार्यक्रमअन्तर्गत भएका प्रगतिको सराहना गर्नुभयो ।

परियोजनाको महत्व एवं उपादेयताको बारेमा आम नागरिक तथा किसान सुसूचित हुनुपर्ने धारणा राख्दै राज्यमन्त्री प्रसार्इंले परियोजनाको कार्य क्षेत्र अझ विस्तार हुनसकेमा आम किसान लाभान्वित हुने कुरामा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रभू बुढाथोकीले कृषि क्षेत्रबाट आम किसानलाई पर्याप्त फाइदा दिन सरकारले सुपरजोनको धारणा ल्याएको बताउँदै कृषकको माग र आवश्यकता पूरा गर्न अझ मेहनत गर्नुपर्ने सुझाव दिनुभयो ।

कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले परियोजनाले कृषि क्षेत्रमा देखिने सबै किसिमको समस्या समाधान गर्ने कुरा जोड दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ, झापाका सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सञ्चालक समितिका उपसंयोजक चिन्तामणि खरेलले पनि बोल्नुभएको थियो ।

यसैगरी, कृषि राज्यमन्त्री सरिता प्रसार्इंले झापाको बनियानीस्थित सुपरजोन कार्यालयको निरीक्षण एवं अवलोकन गर्नुभयो भने सो अवसरमा कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले कार्यालयको गतिविधिका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

साथै, कृषि राज्यमन्त्री प्रसार्इंले झापाको बिर्तामोडस्थित पूवार्ध डेरी उद्योगको निरीक्षण एवं अवलोकन गर्नुभयो भने नेपाल अलैँची व्यवसायी महासंघ, केन्द्रीय कार्यालय, बिर्तामोड, झापाले राज्यमन्त्री प्रसार्इंलाई स्वागत एवं सम्मान पनि गरेको थियो ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००