७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

बाढीबाट आहत भएकालाई कलाकर्मीद्वारा राहतको प्रयास



पोखरा, २१ भदौ । “देश दुःखेको बेला कलाकर्मीको मन नदुख्ने कुरै भएन नी,” पोखरेली वरिष्ठ कलाकार गोपाल श्रेष्ठले भन्नुभयो, “बाढीपीडितलाई केही मात्रामा राहत होस् भनेर कलाकर्मीको प्रयासमा यो कला प्रदर्शनी गरेका हौँ ।”

बाढीको पीडाका कारण घरवास गुमाएका पीडितलाई केही मात्रामा नै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सिर्जनशील कलाकार समूह, पोखराको संयोजनमा पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा यही भदौ १७ गतेदेखि कला प्रदर्शनी चलिरहेको छ ।

यस वर्षको बाढीका कारण नेपालका धेरै भूभागमा ठूलो क्षति बेहोर्नु परेको पीडाले कलाकारका मनलाई छोएको बताउँदै कलाकार श्रेष्ठले मानिसले भोग्नुपरेका पीडा, व्यथा र वेदनामा केही मात्रामा नै भए पनि मलमपट्टी लगाउन सकिन्छ कि भन्ने उद्देश्यले कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा रु दुई हजार ५०० देखि २० हजारसम्मका कलाकारका सिर्जना राखिएको बताउने अर्की कलाकार मिलन शेरचनले बाढीपीडितको सहयोगार्थ प्रदर्शनी राखिएका कारण ५० प्रतिशत छुटमा सिर्जना बिक्री गरिएको बताउनुभयो ।

“बिक्री गरिएकामध्ये प्रत्येक कलाको ५० प्रतिशत बाढीपीडितलाई र ५० प्रतिशत कलाकारका लागि छुट्याएका छौँ,” उहाँले भन्नुभयो, “शुरुमा नै ५० प्रतिशत छुट गरी त्यसको पनि ५० प्रतिशत बाढी पीडितलाई छुट्याएका कारण कलाकारले खासै कलाको परिश्रमको मूल्य नपाउने भएपनि देश दुःखेको बेला सानै सहयोग भए पनि राहत दिन सकिन्छ कि भनेर यो प्रदर्शनी गरिएको हो ।”

प्रदर्शनीमा ३२ जना कलाकारका ८५ वटा तस्वीर राखिएको कलाकार एवं पोखरा आर्ट ग्यालरीकी कर्मचारी एलिता गुरुङले जानकारी दिनुभयो ।

“प्रदर्शनी शुरु भए यता विभिन्न १८ वटा कला बिक्री भइसकेको छ,” उहाँले भन्नुभयो, “कलाका पारखीका लागि अघिपछि भन्दा ५० प्रतिशत छुट हुनुका साथै आफूले तिरेको कलाको ५० प्रतिशत बाढीपीडितका लागि जाने भएका कारण पनि कतिपय व्यक्ति कला खरिद गर्न लालायित भएका छन् ।”

घरमा लगेर कला सजाउन पनि पाइने र किनेको कलाको ५० प्रतिशत मूल्य बाढीपीडितको सहयोगमा जाने भएकाले कलाका पारखीका लागि यो सामाजिक सेवाको पनि अवसर भएको प्रदर्शनीमा आएका पोखरा नागढुंगाका ओम कार्कीले बताउनुभयो ।

प्रदर्शनीले देश र समाजको पीडामा कलाकार पनि सँगै छन् भन्ने कुराको ऐक्यबद्धतासमेत प्रस्तुत गरेको सिर्जनशील कलाकार समूहका अध्यक्ष प्राज्ञ नगेन सिंहले बताउनुभयो ।

सिर्जनशील कलाकार समूहका कोषाध्यक्ष झविन्द्र गुरुङका अनुसार आगामी भदौ २४ गते शनिबारसम्म आयोजना गरिने प्रदर्शनीमा वरिष्ठ कलाकार दुर्गा बराल, गोपाल श्रेष्ठ, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, मिलन शेरचन, हेमकान्ती गुरुङ, निशान गुरुङलगायतका सिर्जना राखिएको छ ।

प्रदर्शनीमा बिक्री भएका सिर्जनाको ५० प्रतिशत मूल्यका अतिरिक्त प्रत्येक कलाकारले प्रतिव्यक्ति रु ५०० थप रकम बाढीपीडितलाई सहयोग गर्ने निर्णयसमेत गरिएको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार ००:००