७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

धनकुटाका पत्रकारको उपचारका लागि सहयोग



ताप्लेजुङ, २० भदौ । मुटुको रोगका कारण पीडित भएका धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको उपचार खर्चका लागि ताप्लेजुङका पत्रकारले सहयोग रकम संकलन गरी पठाएका छन् ।

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ताप्लेजुङको सक्रियतामा संकलित रु ११ हजार राईको उपचारका लागि सहयोगस्वरुप पठाइएको पत्रकार महासङ्घका उपाध्यक्ष चन्द्र पन्दाक (प्रयास)ले बताउनुभयो ।

उक्त रकम जिल्लामा रहेका सञ्चारकर्मीलगायतबाट संकलन गरिएको हो । राईको उपचारका लागि सहयोग गर्न पत्रकार महासङ्घले देश तथा विदेशका सञ्चारकर्मीसँगसमेत आग्रह गरेको छ ।

यस्तै, प्रदेश नं १ का सबै जिल्ला शाखामार्फत सहयोग संकलन गरी सहयोग गर्न अपिल पनि गरिएको पन्दाकले बताउनुभयो ।

लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गर्नुभएका राई नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएरसमेत काम गर्नुभएको थियो । राई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ ।

प्रकाशित : २० भाद्र २०७४, मंगलबार ००:००