१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

बोक्सीखोलामा चिज उद्योग



कोवाङ (मुस्ताङ), १९ भदौ । थासाङ गाउँपालिका–२ बोक्सीखोलामा गाई फार्म र चिज उद्योग स्थापना भएको छ ।

धौलागिरि गुरुसाम्फु कृषि सहकारी संस्थाले गाई फार्म र चिज उद्योग सञ्चालन गरेको हो । मुस्ताङमा आवश्यक दुग्धजन्य पदार्थको आपूर्ति गरी आयात घटाउने, रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि गाई फार्मसँगै चिज उद्योग सञ्चालन गरिएको सहकारीका अध्यक्ष नरबहादुर हिराचनले बताउनुभयो ।

“मुस्ताङमा आवश्यक दूध, घ्यू र छुर्पी आपूर्तिका लागि गाईफार्म सञ्चालन गरिएको हो” उहाँले भन्नुभयो “यहाँ गाई फार्म सञ्चालन गरेपछि पोखराबाट आयात हुने दूध घटेको छ ।”

अध्यक्ष हिराचनका अनुसार हिमाली आयोजनाको सहयोगमा रु ५६ लाख २३ हजारको लागतमा फार्म स्थापना भएको हो । आयोजनाको रु ४२ लाख ९६ हजार र सहकारीको रु १३ लाख २६ हजार लगानीमा स्थापना भएको फार्मका हाल २० वटा होलीस्टेन, जर्सी र जर्सी क्रस जातका गाई छन् ।

दैनिक ७० देखि ११५ लिटर दूध उत्पादन हुने गरेको छ । २५ जना सदस्य रहेको सहकारीले मुस्ताङमै पहिलो पटक चिज उद्योग सञ्चालन गरेको हो । दैनिक सात किलोका दरले चिज उत्पादन हुने गरेको छ । चिज प्रतिकिलो रु एक हजारमा जोमसोम, मार्फा, कागबेनी, टुकुचे, कोवाङ, लेतेका होटलमा खपत हुन्छ ।

चिज उत्पादन गरेर बचेको दूध बिक्री हुने गरेको छ । दैनिक ६० लिटरभन्दा बढी दूध बिक्री हुन्छ । फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । मासिक रु एक लाख ५० हजार बराबरको दूध र चिज बिक्री हुने गरेको संस्थाले जनाएको छ ।

संस्थाले चौरी गाईको दूधबाट चिज उत्पादन गर्ने योजना बनाएको छ । “चौरी खर्क रहने गाउँमै अस्थायी संरचना बनाएर त्यहीँबाट उद्योग सञ्चालन गर्ने तयारी गरेका छौँ,” हिराचनले भन्नुभयो “चिज र दूध ढुवानीका लागि तीनवटा खच्चर खरिद गरिसकेका छौँ ।”

प्रकाशित : १९ भाद्र २०७४, सोमबार ००:००