११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

मंसिरमा पन्ध्रौँ हस्तकला व्यापार मेला हुने



काठमाडौँ, १८ भदौ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी हुनेभएको छ ।

वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मस, ललितपुर उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिकाको सहयोगमा हस्तकला व्यवसायको विकास विस्तार तथा प्रवद्र्धनका लागि उक्त मेला आयोजना गर्न लागिएको हो ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले महासंघले नेपाली हस्तकलालाई आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि हरेक वर्ष झैँ यो मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो । मेलामा धातु मूर्तिकला तथा धातुजन्य सामान, चाँदीका गरगहना तथा सामान, पश्मिना, सुती एवं ढाकाका सामान, हाते कागजका सामान, काष्ठकला, प्रस्तरकला, छालाजन्य वस्तु, ऊनीजन्य वस्तु, उपहारका सामान मेलामा राखिने अध्यक्ष शाक्यले बताउनुभयो । मेलामा छ मण्डपसहित २५० कक्ष रहने महासंघले जनाएको छ ।

महासंघका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मीले मेलामा अन्तर्राष्ट्रिय सहभागीका रुपमा भारत, पाकिस्तान, बंगलादेश, चीन, भुटान आदि मुलुकबाट उद्यमी व्यवसायीको सहभागिता रहने जानकारी दिनुभयो । उहाँले महासंघले हस्तकला व्यवसायको विकास विस्तार तथा प्रवद्र्धनका लागि विसं २०४८ देखि २०७३ सम्म १४औँ पटक व्यापार मेला आयोजना गरिसकिएको जानकारी दिनुभयो । यसका अलावा मेलामा उत्कृष्ट कक्ष तथा मण्डप प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त शीप प्रदर्शन, मेलामा प्रदर्शन हुने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त सांस्कृति सम्पदा प्रदर्शन र ‘बि टु बि’ बैठक हुने जनाएको छ ।

प्रकाशित : १८ भाद्र २०७४, आइतबार ००:००