११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

मतदाता शिक्षा कार्यकर्तालाई उत्साहपूर्वक स्वागत



काठमाडौँ, १७ भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा खटिएका मतदाता शिक्षा कार्यकर्तालाई मतदाताले उत्साहपूर्वक स्वागत गरेका छन् ।

वैशाख ३१ गते नै निर्वाचन हुने घोषणा भएर पनि पटकपटक मिति सरेका कारण लामो समयदेखि मतदानको प्रतीक्षामा रहेका मतदाताले मत चिह्नमा सही संकेत गर्न सिकाउन पुगेको मतदाता शिक्षा कार्यकतालाई उत्साहका साथ स्वागत गरेका हुन् ।

सप्तरी कञ्चनरुप नगरपालिका–७ मा मतदाता शिक्षाका लागि खटिएकी दीपा पन्तले भन्नुभयो, “मतदातामा निकै उत्साह छ, निर्वाचनका लागि राम्रो वातावरण बनेको छ, मतदाताले मत संकेत गर्नेबारेमा निकै अभिरुचिपूर्वक जिज्ञासा राख्नुभएको छ, हामीप्रति निकै राम्रो व्यवहार भएको छ ।”

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हँुदैछ ।

निर्वाचन आयोगले विगतको निर्वाचनबाट पाठ लिएर बदर मत प्रतिशत घटाउन तथा सदर मत प्रतिशत बढाउन आगामी स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रममा विशेष जोड दिँदै आएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार तेस्रो चरणको निर्वाचनका लागि आयोगले यही भदौ १५ गतेदेखि तीन हजार ५०० मतदाता शिक्षा कार्यकता खटाइएको छ । उनीहरुले पर्चा, पम्लेट र नमूना मतपत्रसहित प्रत्येक मतदाताको घरमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले स्थानीय भाषामा स्थानीय एफएममार्फत यसपटक मतदाता शिक्षा पु¥याउने, संयुक्त राष्ट्रसंघ मातहतका गैरसरकारी संस्थालाई पनि परिचालन गर्ने, दलित र महिलालाई मतदानका अतिरिक्त उम्मेदवार बन्न प्रेरित गर्ने, नमूना मतदान गर्नेजस्तो व्यवस्था मिलाएको छ ।

रौतहटको राजदेवी नगरपालिका लक्ष्मीपुर–बेलबिचवामा मतदाता शिक्षामा खटिनुभएका धनञ्जयसिंह चौहानले निर्वाचनप्रति मतदाता पूरै उत्साहित रहेको, जताततै गाउँ टोलमा निर्वाचनकै कुरा गरेको आफूले पाएको बताउनुभयो ।

तेस्रो चरणको निर्वाचनका लागि मतपत्र, निर्वाचन सामग्री, जनशक्तिलगायतको व्यवस्थापन भइसकेको जनाउँदै आयोगले तयारी, मतदाता शिक्षा र शान्ति सुरक्षाको व्यवस्थापन सम्बन्धमा जिल्लाको वस्तुस्थिति बुझ्न जानुभएको जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००