१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

कर्मचारी समायोजन हुँदै, भनपाले गराएन हाजिर



भक्तपुर, १७ भदौ । भक्तपुरमा धमाधम कर्मचारी समायोजन शुरु भएको छ ।

जिल्लामा रहेका विभिन्न कार्यालयका कर्मचारी समायोजनका क्रममा जिल्लाका तीन नगरपालिकामा हाजिर भइरहेकाछन् । मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा कर्मचारी समायोजन भइरहेको प्रजिअ द्रोण पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा, महिला विकास, कृषि विकास, पशुसेवा, जनस्वास्थ्य कार्यालयलगायत जिल्लाका सरकारी कार्यालयका कर्मचारी समायोजन गरी नगरपालिकाहरुमा पठाइएको छ । कर्मचारी नगरपालिकाहरुमा हाजिर भइसकेका छन् । केही कर्मचारी नगरपालिकामा हाजिर गरेर सम्बन्धित कार्यालयमा पुराना काम सम्पन्न गर्न कार्यालयमै आउने गरेका छन् ।

यता भक्तपुर नगरपालिकाले भने समायोजन भएर गएका कर्मचारीलाई हाजिर गराएको छैन । महिला विकास, कृषि विकास कार्यालयलगायत कार्यालयबाट समायोजनमा परेर नगरपालिका हाजिर हुन पटक पटक गए पनि हाजिर नगराइएको गुनासो कर्मचारीले गरेका छन् ।

महिला विकास अधिकृत नीला घिमिरेले नगरपालिकाले तत्काल कर्मचारीको आवश्यकता नपरेको जानकारी गराउँदै हाजिर नगराएपछि पुरानो कार्यालयमै हाजिर भएको बताउनुभयो । भक्तपुर नगरपालिका प्रशासन शाखाले भने नगरपालिकालाई थप कर्मचारीको आवश्यकता नपरेकाले हाजिर नगराएको जनाएको छ ।

प्रजिअ पोखरेलले कर्मचारी आवश्यक नभएका खण्डमा समायोजन भएर गएका कर्मचारीलाई नगरपालिकाले हाजिर गराउन बाध्य नहुने बताउनुभयो । नगरपालिकाले हाजिर नगराएका कर्मचारीले आफ्नो पुरानै कार्यालयमा गएर हाजिर गर्न सक्ने जनाइएको छ ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००