७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

बाढी विस्थापितलाई घर निर्माण सामग्री प्रदान



इटहरी, १६ भदौ । नेपाल तामाङ घेदुङ इटहरीले यस उपमहानगरपालिकाका विभिन्न वडाका बाढी विस्थापित नौ घरपरिवारलाई आवासगृह निर्माणका लागि बिहीबार आवश्यक निर्माण सामग्री हस्तान्तरण गरेको छ । बाढी विस्थापित सुनसरीका घरवासविहीनलाई पहिलोपटक आवास निर्माण सामग्री उपलब्ध गराइएको हो ।

इटहरी उपमहानगरपालिकामा रहेको बूढीगंगा नदीमा आएको बाढीले घरवास बगाएर बिचल्लीमा परेका ती परिवारलाई पहिलोपटक आपत्कालीन घरवास निर्माणका लागि कर्कट पाता, कोरोबत्ती (घर छाउन प्रयोग गरिने), सिमेन्टको पोललगायत सामग्री हस्तान्तरण गरेको तामाङ घेदुङका लोकबहादुर तामाङले विवरण दिनुभयो ।

घेदुङका सहसचिव मोहन तामाङका अनुसार इटहरी–३ की निलम धिमाल, इटहरी–१० का अभिषेक लिम्बू, राधादेवी श्रेष्ठ, सुनिता तामाङ, पार्वती यादव, सोममाया तामाङलगायतका नौ घरपरिवारलाई घर निर्माण सामग्री उपलब्ध गराइएको विवरण दिनुभयो ।

नेपाल तामाङ घेदुङ, इटहरीका चन्द्र गोम्देन, प्रदेश सदस्य रमला तामाङ, सुजिल गोले लगायतको सक्रियतामा एनआरएन स्पेनबाट प्राप्त सहयोगबाट ती घरवासविहीन परिवारलाई बसोबास गर्न उपयोगी निर्माण सामग्री उपलब्ध गराइएको हो ।

उनीहरुलाई आपत्कालीन अवस्थाको विश्लेषण गरेर आवास निर्माणका लागि आवश्यक पर्ने वस्तु खरिद गरेर दिइएको तामाङ घेदुङ, इटहरीले बताएको छ ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००