७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

तातोपानीमा डुबुल्की मार्दै विदेशी



बेनी (म्याग्दी), १५ भदौ । तीन वर्षदेखि जापानबाट पाँच जनाको एक समूह नियमित रुपमा बेनी नगरपालिका ४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने गरेको छ ।

युट्युब र अनलाइनमा तातोपानी कुण्डका बारेमा जानकारी पाएपछि कुण्ड खोज्दै आएको जापानी टोलीले हरेक वर्ष बुकिंग गरेर तातोपानी कुण्डमा डुबुल्की लगाउँछ र प्राकृतिक उपचारमार्फत स्वस्थ भई आफ्नो देशमा फर्किने गर्छ ।
देशमा विभिन्न अस्पतालमा उपचार गरेर दिक्क भएका बिरामीको रोजाइमा पर्ने गरेको तातोपानी कुण्डमा जापानबाट १३ तथा भारत र दक्षिण कोरियाबाट २७ जनाले तीन देखि पाँच दिनसम्म बसेर तातोपानीमा डुबुल्की लगाई उपचार गराएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य कुमार केसीले बताउनुभयो ।
“जापानबाट हरेक वर्ष स्नान गर्न भनेर आउनेको संख्या बढेको छ । कुण्डको प्रचारप्रसार गर्न सकेमा थप विदेशीलाई समेत आकर्षण गर्न सकिन्छ” केसीले भन्नुभयो । केसीले तीन महिना अगाडि होटल बुकिंग गरेर आउने गरेका जापानीले त्यहाँको संचारमाध्यममा समेत कुण्डको प्रचारप्रसार गरेकाबताउनुभयो । कुण्डमा नेपाली र विदेशीलाई समान टिकटको व्यवस्था गरिएको छ ।
“विदेशीलाई पनि एउटै शुल्क लिन गरेका छाँै । विश्वभर रहेका म्याग्देलीलाई त्यहाँ प्रचारप्रसारमा सघाउने गरी योजना बनाइरहेका छौ” कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भन्नुभयो । उहाँले स्नान गर्न आउने विदेशी पर्यटकलाई स्वागतसहित कुण्डका बारेमा जानकारी गराउने गरिएको बताउनुभयो ।
कुण्डमा एक वर्षका अवधिमा १४ हजार र्ना सयभन्दा बढी बिरामीले स्नान गरेका छन् । कुण्डमा सबैभन्दा धेरै बागलुङ जिल्लाबाट आउने गरेका छन् । पर्वत, मनाङ, मुस्ताङ, कास्की, काठमाडौ, रुपन्देही, चितवन, बाँके, सुनसरीलगायत क्षेत्रबाट आएका बिरामीबाट शुल्क र चन्दाबापत रु ४२ लाख आम्दानी भएको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
ग्यास्ट्रिक, बाथरोग, ढाड दुखाइ, छाला, सुन्निनु, बज्रनु, मर्किनु, पेट दुखाइ, खाना अरुचिलगायत स्वास्थ्य समस्या भएका बिरामीका लागि तातोपानी कुण्ड प्रकृतिको वरदान बनेको छ । बेनी नगरपालिका, धौलागिरि गाउँपालिकाको मुदी, रघुगंगा गाउँपालिकाको दग्नाम र अन्नपूर्ण गाउँपालिकाको घारलगायत गरी जिल्लाभर करिब एक दर्जन तातोपानी कुण्ड फेला परेका छन् ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००