१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

नवदुर्गाको मुकुण्डो बनाउने परम्परा धान्दै पूर्ण चित्रकार



भक्तपुर, १५ भदौ । “नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी बोक्ने को ? यो पेशालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ । बाहिर काम गर्न गए दैनिक रु दुई हजार ज्याला पाइन्छ । नवदुर्गा देवगणको मुकुण्डो बनाएर न परिवार धान्न सकेको छु न त गुजारा नै ।” उल्लिखित भनाइ भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा नाचको देवगणको मुकुण्डो बनाउन तल्लिन एकमात्र कालिगड पूर्ण चित्रकारको हो ।

सांस्कृतिक तथा धार्मिक परम्परागत रीतिरिवाज चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुण्डो विशेष गरी आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा संकटमा परेको हो । नवदुर्गा गण नाचका लागि आवश्यक विभिन्न देवीदेवताका १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एकजनामात्र संलग्न हुनुहुन्छ । उहाँको परिवारका सदस्य समेत यो पेशाबाट विमुख हुँदै गएका छन् । पूर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने हो यसको उत्तर कसैसँग छैन ।

मुकुण्डो नभए नवदुर्गा नाचसमेत प्रभावित हुन्छ । नवदुर्गाको मुकुण्डो प्रत्येक वर्ष नयाँ बनाउनु पर्छ । मुकुण्डो घण्टाकर्ण चतुर्दशीका दिन बनाउन शुरु गरेर दशैँको महानवमीमा प्रदर्शन गर्न तयार गरिसक्नुपर्छ । महानवमीको राति भक्तपुरको ब्रह्मायणीमा तान्त्रिक विधिले पूजा गरी मुकुण्डोलाई सिद्ध गरेपछि नवदुर्गा नाच शुरु हुन्छ । यो नाचलाई करिब नौ महिना भक्तपुर नगरमा मात्रै २१ ठाउँबाहेक चाँगुनारायण, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुंर्खकलगायतका स्थानमा प्रदर्शन गरिन्छ ।

नवदुर्गा देवगणको महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, सिम्ह, दुम्ह, भैरव र श्वेतभैरव गरी १३ वटा मुकुण्डो तीन महिनामा तयार गर्नुपर्छ । मुकुण्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुंगाबाट बनेको रङ्ग, सुन, मैदा, मट्टीतेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडा, मासलगायतका सामग्री आवश्यक पर्छ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार बताउनुहुन्छ । उहाँले मुकुण्डो बनाउन आवश्यक सामग्री खरिददेखि कामदारको ज्याला र आफ्नो ज्यालासमेत जोड्दा वर्षेनी रु एक लाखभन्दा बढी घाटा हुने गरेको बताउनुभयो ।

मुकुण्डो बनाउन कामदारको ज्याला, आवश्यक सामग्री खरिद र आफ्नो ज्यालासमेत जोड्दा वर्षेनी रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उहाँले बताउनुभयो । आम्दानीभन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुण्डो नबनाउन दबाब दिने गरेको उहाँले बताउनुभयो ।

मुकुण्डोमात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुण्डो बनाउनलाई माटोको पूजा गर्नुपर्छ । यसरी माटोलाई पूजा गर्न आउने बाजागाजासहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ । नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले वर्षेनी मुकुण्डो बनाउनका लागि अक्षयकोष वा उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गर्नुभएको छ । मुकुण्डो बनाउन आवश्यक रकमको जोहो भएमात्र नयाँ पुस्ता तयार हुन सक्ने उहाँले बताउनुभयो ।

मुकुण्डो बनाउने कार्यका लागि संस्कृति मन्त्रालयले वार्षिक रु ५० हजार र गुठी संस्थान भक्तपुरले वार्षिक रु १५ हजार दिँदै आइरहेको छ । गुठी संस्थानले २०५२ सालमा वार्षिक रु ६०० बाट बढाएर रु १५ हजार पु¥याएको हो भने मन्त्रालयले दुई वर्षयता वार्षिक रु ५० हजार दिन थालेको हो । उहाँले रकम नपुग भएको विषयमा गुठी संस्थानमा पटक–पटक गुनासो लिएर गए पनि हुन्छ हुन्छ भन्ने तर सहयोग भने नगर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गुठीका हाकिम वर्षदिन नपुग्दै सरुवा हुन्छ र अर्को आउँछ । कति ताकेता गर्नु ? आश्वासनबाहेक केही पाइएन ।”

गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले मुकुण्डोको बनाउन वर्षेनी रु १५ हजार दिँदै आएको जानकारी दिँदै सो रकम अपुग भएको स्वीकार गर्नुभयो । प्रमुख सुवेदीले भन्नुभयो, “गुठीबाट दिइरहेको रकम अलि अपुग हो तर उहाँले मागेको रकम गुठीबाट उपलब्ध गराउनु अलि सम्भव छैन ।
विसं २०२० देखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आउनुभएका चित्रकार अहिले ७१औँ वसन्त पार गर्ने तरखरमा हुनुहुन्छ । उहाँ धर्म संस्कृतिको जगेर्नाका लागि मात्र मुकुण्डो बनाउन नछोडेको बताउनुहुन्छ । उहाँले उमेरले समेत साथ छोड्दै ल्याएकाले आफूपछि कसले मुकुण्डो बनाउँछ भन्ने चिन्ता लाग्न थालेको बताउनुभयो । सम्बन्धित निकायले चासो दिएर आवश्यक रकमको बन्दोबस्त गरिदिए मुकुण्डो बनाउन नयाँ पुस्ता आकर्षित हुने, नभए आफूसँगै मुकुण्डो बनाउने कार्य लोप हुने भयले सताउन थालेको उहाँले भनाइ छ । नवदुर्गा भगवान् सबैलाई चाहिने, नवदुर्गाको मोहनी (विशेष प्रकारको कालो टीका) सबैलाई चाहिने तर यसको बारेमा कसैले चासो नदिने ?” उहाँले गुनासो गर्नुभयो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००