१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

पार्टीले महिलालाई प्रमुखको उम्मेदवार बनाउनुपर्छ’



काठमाडौँ, १५ भदौ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीले महिलालाई प्रमुख र अध्यक्षको उम्मेदवार बनाउनुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।

जागरण नेपालद्वारा यहाँ आज आयोजित ‘स्थानीय तह निर्वाचनः महिला सहभागिता चुनौती र आगामी रणनीति’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा स्थानीय तहका प्रमुख र अध्यक्षहरूले पहिलो र दोस्रो चरणको निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमा मात्र सीमित गरिएको भन्दै गुनासो गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले स्थानीय तहको निर्वाचनअन्तर्गत असोज २ गते हुने २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा महिलालाई उपप्रमुख र उपाध्यक्षमात्र भन्दा पनि प्रमुख र अध्यक्षको उम्मेदवार बनाउन राजनीतिक दलका नेतालाई आग्रह गर्नुभयो ।

“अधिकार मागेर कसैले दिँदैन, अधिकार लिनका लागि लड्नुपर्छ, पार्टीभित्र र बाहिर पनि संगठित भएर संघर्ष गर्नुपर्छ, अहिले नभए पनि अबको पाँच वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा महिला प्रमुख हुने गरी पैरवी र तयारी गर्नुपर्छ”, उपप्रमुख खड्गीले भन्नुभयो ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनबाट करिब ४१ प्रतिशत महिला स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएका छन् । दिपायल नगरपालिकाका प्रमुख मञ्जु मरासिनीले राज्यका कार्यकारी पद, नीति निर्माणलगायत हरेक संरचनामा महिलाको समान सहभागितालाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।

संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै तहमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनी उल्लेख गरिएको छ ।

जागरण नेपालका अध्यक्ष सम्झना पोखरेल, महिला अधिकारकर्मीद्वय शर्मिला कार्की र लिली थापाले अधिकारका लागि सम्पूर्ण महिला एकीकृतरूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००