१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

तरकारीखेतीले फेरियो मुक्तकमैयाको दैनिकी



कञ्चनपुर, १५ भदौ । दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबाट चौधरीले तीन महिनामा रु २० हजार आम्दानी गर्नुभयो ।

मजदुरी गरेर चौधरीले दैनिक रु २०० मात्रै कमाइ गर्नुहुन्थ्यो । मजदुरीको तुलनामा तरकारीखेतीबाट बढी आम्दानी हुने भएपछि उहाँले व्यावसायिक तरकारीखेतीलाई अंगाल्नुभएको हो । “तरकारीखेती गरेर परिवार पाल्न सहज भएको छ,” उहाँले भन्नुभयो ।

थोरै जग्गा भएपछि उहाँले वार्षिक रु एक लाख ८७ हजार तिर्ने गरी हाल एक बिगाहा १० कट्ठा जग्गा भाडामा लिई तरकारीखेतीलाई निरन्तरता दिनुभएको छ । तरकारीखेती गरेर उहाँले वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

बर्खायाममा काँक्रा, लौका, भिण्डी, करेला, बोडीलगायत तरकारीखेती गर्दै आउनुभएका चौधरीले हिउँदमा आलु, काउली, गोलभेँडा, खुर्सानी, भण्टा र हरियो तरकारीखेती गर्नुहुन्छ । छजनाको परिवारको लुगाफाटो, अन्न र अन्य खर्च कटाएर केही रकम बैंकमा बचतसमेत गर्दै आएको उहाँको भनाइ छ ।

पक्की घर निर्माणका लागि रु पाँच लाखभन्दा बढी रकम बैंकमा बचत गरेको चौधरीले बताउनुभयो । “तरकारीखेतीकै रु एक लाख ६० रकम खर्चेर छोरालाई वैदेशिक रोजगारीमा पठाएर अतिरिक्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।

यस्तै विपद्राम चौधरीले तरकारीखेती गरी मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । गरिबी निवारण कोषबाट पहिलो वर्ष रु तीस हजार तरकारीखेतीका लागि ऋण लिनुभएका चौधरीले रु दुई लाख पहिलो वर्षमै आम्दानी गरेपछि उत्साहित हुँदै जग्गा भाडामा लिई तरकारीखेतीलाई विस्तार गर्नुभएको छ ।

भूमि सुधार कार्यालयले पुनःस्थापन हँुदा उपलब्ध गराएको पाँच कट्ठा जग्गासहित १० कट्ठा थप वार्षिक रु १० हजार तिर्ने गरी भाडामा लिएर तरकारीखेतीलाई उहाँले विस्तार गर्नुभएको छ । हिउँदमा बन्दागोभी, काउली र गोलभेँडा बेचेर दैनिक रु दुई हजार घरमै बसीबसी आम्दानी हुने र बर्खामा काँक्रा, लौका, तितेकरेला बिक्री गरेर रु एक हजार ५०० दैनिक कमाइ हुने गरेको छ ।

तरकारी बेचेको रकमले छजना परिवारको खर्च कटाएर वार्षिकरुपमा रु दुई लाख बैंकमा बचत गर्दै आएको उहाँले बताउनुभयो । बैंकमा बचत भएको रकम परिचालन गरी पक्की घर निर्माण गर्ने सोच उहाँले बनाउनुभएको छ । तरकारीखेतीमा संलग्न चौधरी बस्तीमै सबैभन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । बस्तीका प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००