१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

अर्थ

अकबरे खुर्सानीबाट तीन लाख आम्दानी



पाँचथर, १२ साउन । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उहाँले कृषि पेशा नै अगाँल्नु भयो । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उहाँले अकबरे खुर्सानी रोप्न थाल्नुभयो ।

अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरी वार्षिक रु तीन लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उत्पादन भएको खुर्सानी राँके र घुर्विसे बजारमा बिक्री गर्नुहुन्छ । उहाँको खुर्सानी बिक्रीका लागि झापा, सुनसरी तथा काठमाडौँसम्म पुग्छ ।

अकबरे खुर्सानीसँगै नेम्बाङले व्यावसायिक रुपमा सुन्तला र अलैँची खेती समेत गर्दैआउनुभएको छ । अलैँची खेतीबाट उहाँले वार्षिक रु पाँच लाखसम्म तथा सुन्तला खेतीबाट वार्षिक रु एक लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । नेम्बाङ राष्ट्रपति कृषक पुरस्कार २०७२ बाट समेत सम्मानित भइसक्नुभएको छ ।

“जोश, जाँगर र हिम्मत गरे पैसा कमाउन विदेश गइरहनु पर्दैन,”उहाँले भन्नुभयो । गाउँमै २० रोपनी जग्गा किनेर अहिले उहाँ व्यावसायिक रुपमा अकबरे खेती र अलैँची खेती गर्दै आउनुभएको छ ।

प्रकाशित : १२ श्रावण २०७४, बिहिबार ००:००