२० मंसिर २०८१, बिहिबार । December 5, 2024

मुख्य खबर

बजार प्रभावित पार्ने काम नगर्न आग्रह : आइतबारदेखि खुल्ने विश्वास



काठमाडौँ, १६ असार । मुलुकको आर्थिक गतिविधिको मेरुदण्डका रुपमा रहेको धितोपत्र बजारलाई प्रभावित पार्ने कुनै पनि काम नगर्न नेपाल धितोपत्र बोर्डले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

मूल्य अभिवृद्धि करको विषयलाई लिएर नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले बिहीबार कुनै पनि कारोबार नगरेपछि बजार प्रभावित भएको थियो । सङ्घले भने आफूहरु कर तिर्न तयार रहेको तर कसरी तिर्ने भन्ने व्यवस्थामात्रै गरिदिन आग्रह गर्दै आएको जनाएको छ ।

धितोपत्रको दोस्रो बजार कारोबार नहुँदा यसबाट पुँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावको संवेदनशीलतालाई समेत दृष्टिगत गरी आवश्यक निर्देशन दिइएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिनुभयो ।

सहायक प्रवक्ता घिमिरेले बिहीबार धितोपत्र दलाल व्यवसायीले कुनै मूल्य अङ्कित नगरेको तथा कारोबार नगरेको भन्ने नेपाल स्टक एक्स्चेन्जबाट जानकारी गराइएको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।

धितोपत्रको दोस्रो बजारको फ्रन्ट लाइन रेगुलेटरका रुपमा रहेको नेप्सेलाई तत्काल कारोबार हुने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको सहायक प्रवक्ता घिमिरेको भनाइ छ ।

मूल्य अभिवृद्धि कर तिर्ने सम्बन्धमा प्रस्ट व्यवस्था नभएको भन्दै नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले विरोध जनाएपछि बिहीबार कारोबार प्रभावित भएको थियो । बोर्ड र सङ्घबीच वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केपछि बजारमा कारोबार रोकिएको थियो ।

सङ्घका प्रतिनिधि नरेन्द्रजङ्ग सिजापतिले आफूहरू कर तिर्न तयार भए पनि सरकारले सहज वातावरण नबनाएका कारण बजार प्रभावित भएको र आफूहरु संवादका माध्यमबाट निष्कर्ष निकाल्न तयार रहेको बताउनुभयो ।

महालेखा परीक्षकको कार्यालयले आव २०६९÷७० देखि हालसम्मको कारोबारको कर नतिरेको भन्दै बेरुजुमा राखेको छ । बेरुजुको बारेमा जानकारी प्राप्त हुनेवित्तिकै अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागमार्फत नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घलाई कर तिर्न केही दिन अगाडि पत्राचार गरेको थियो ।

सरकारले कर तिर्ने वातावरण बनाइदिए आफूहरूलाई आपत्ति नभएको तर विगतको पनि कर तिर भन्नु व्यावहारिक नभएको बरु पश्चगामी निर्णय भएको सङ्घका प्रतिनिधि सिजापतिको भनाइ छ ।

अर्थमन्त्रालयले भने करको विषयमा प्रष्ट निर्णय गर्न र बजार प्रभावित हुने कुनै पनि काम नगर्न÷नगराउन बोर्डलाई ध्यानाकर्षण गराएको छ । राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले आजदेखि कार्यभार सम्हाल्नुभएको र विवाद समाधान गर्न सबै पक्षसँग सार्थक छलफल हुने विश्वास सम्बद्ध पक्षले लिएको छ ।

स्टकका महाप्रबन्धक सीताराम थपलियाले सङ्घका प्रतिनिधिसँग समस्या समाधानको सन्दर्भमा छलफल भएको जानकारी दिनुभयो । उहाँले बजार प्रभावित पार्ने काम नगर्न आग्रह गर्दै करका विषयमा के गर्ने भन्नेबारेमा अर्थमन्त्रालयले आवश्यक निर्णय लिने उल्लेख गर्नुभयो । उहाँले आइतबारदेखि बजार खुल्नेसमेत विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००