६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

रुपाकोट मझुवागढीमा माओवादी केन्द्रको अग्रता



खोटाङ, १६ असार । सबैको ध्यान केन्द्रित रहेको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच कडा प्रतिस्पर्धा हुने भनिएको नगरपालिकामा पछिल्लो समय माओवादी केन्द्रले २९० मतले अग्रता लिएको हो ।

माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेदवार दुर्गाजयन्ती राईले एक हजार ७२७, नेपाली काँग्रेसका राजनशेर राईले एक हजार ४३७ र एमालेका दीपनारायण रिजालले एक हजार ३८५ मत ल्याउनुभएको छ । उपप्रमुखमा माओवादीका होमकाजी आचार्य (विनोद)ले एक हजार ९७० मत ल्याएर अग्रस्थानमा रहनुभएको छ ।

नेकाकी कान्ता केसी (बस्नेत)ले एक हजार ३३३ र एमालेकी विनादेवी राईले एक हजार २२७ मत ल्याउनुभएको छ । १५ वटा वडा रहेको नगरपालिकामा पाँचवटा वडाको मतगणना सकिँदा नेकाले तीन र माओवादी केन्द्रले दुईवटा वडामा जित हासिल गरेको छ । अहिले वडा नं २, ३ र १३ को गणना भइरहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिनुभयो ।

यसअघि वडा नं १ मा नेकाका टङ्क आचार्य, ६ मा माओवादी केन्द्रका माधव राई, ७ मा काँग्रेसका महन्त राई, ११ मा काँग्रेसका रामचन्द्र राई, १२ मा माओवादी केन्द्रका विकास राईले जित हासिल गर्नुभएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाको दुवै क्षेत्रमा जित हासिल गरेको एमालेले अहिलेसम्म नगरपालिकामा खाता खोल्न सकेको छैन ।

वडा नं–१२ मा माओवादी केन्द्र विजयी

यसैगरी, रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नेकपा (माओवादी केन्द्र)को समूह भारी मतले विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट विकास राईको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूहले ३०८ मत अन्तरले नेपाली काँग्रेसको समूहलाई पछि पार्दै विजयी भएको हो ।

कुल एक हजार ६० मत खसेको जालपामा माओवादी केन्द्रको समूहले ५९७ ल्याएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

निकटतम प्रतिद्वन्द्वी नेकाका धर्मराज राईको समूहले २८९ मत ल्याएको जनाइएको छ । तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले ९२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००