११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

डोटीमा काँग्रेसको अग्रता



डोटी, १६ असार । जारी मतगणनामा डोटीका अधिकांश स्थानीय तहमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । नौवटा स्थानीय तहमध्ये अध्यक्ष÷प्रमुख पदमा काँग्रेसले ६ वटा तहमा अग्रता लिइरहेको छ भने दुईवटामा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिइरहेको छ ।

दीपायल सिलगढी नगरपालिकामा नेकाका प्रमुखका उम्मेदवार बाजीसिँह खड्काले एक हजार १९३ मतले अग्रता लिइरहेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका मञ्जु मलासीले ७७७ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा भने एमालेका शिवराज खड्का अग्रस्थानमा छन् । उनले एक हजार ४४ मत पाएका छन् भने नेकाकी प्रसिस महरा ९९९ मतले पछ्याइरहेकी छन् ।

दीपायल सिलगढी नगरपालिका–१ मा एमालेका बहादुर खड्का जितेका छन् भने वडा नं २ मा नेकाका राजेन्द्र खड्काको पूरै प्यानलले जितेको छ ।

शिखर नगरपालिकामा पनि नेकाकै सीताराम जोशीले अग्रता कायम राखिरहेका छन् । उनले एक हजार १०६ प्राप्त गरेका छन् भने एमालेका शेरबहादुर मल्लले ९९५ मत ल्याई पछ्याइरहेका छन् ।

उपप्रमुखमा नेकाकी धौलीदेवी रावलले एक हजार ९८ र एमालेकी राधिका बोहराले एक हजार १४ मत प्राप्त गरेकी छन् । शिखरकै वडा नं १ मा नेकाका खडकबहादुर शाहीको पूरै प्यानल जितेको छ । अहिले वडा नं २ र ११ को मतगणना चलिरहेको छ ।

केआइसिंह गाउँपालिकामा नेकाका लोकेन्द्रबहादुर शाहीले एक हजार २९३ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने उपाध्यक्षमा पनि नेकाकै मीना विष्टले एक हजार ३०६ मतका साथ अग्रता कायम गरिरहेकी छन् ।

अध्यक्षमा एमालेका यज्ञराज जोशीले एक हजार २३८ र उपाध्यक्षमा एमालेकै देवकी जोशीले ६८९ मत प्राप्त गरी पछ्याइरहेका छन् । केआइसिँहका वडा नं १, २ र ३ मा क्रमशः नेकाकै कृष्णबहादुर बम, नेत्रबहादुर रावल र रतन कुँवरको पूरै प्यानलले जितेको छ ।

पूर्वीचौकी गाउँपालिकामा नेकाकै रामप्रसाद उपाध्यायले अग्रता लिइरहेका छन् । उनले हालसम्म ४७३ मत पाएका छन् भने एमालेका दीर्घबहादुर बोगटीले ४५६ मतले पछ्याइरहेका छन् । उपाध्यक्षमा नेकाकी माया कुँवरले ४७९ मत पाउँदा एमालेकै निर्मला साउदले ४४३ मतसहित पछ्याइरहेकी छन् । पूर्वीचौकी–१ को वडाध्यक्षमा नेकाका उम्मेदवार अङ्कबहादुर खड्काले जितेका छन् ।

बडिकेदार गाउँपालिकामा पनि नेकाकै कृष्णबहादुर चन्दले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले ५२२ मत ल्याएका छन् भने उनलाई एमालेका भक्तबहादुर साउदले ३७६ मतले पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि नेकाकै इन्द्रा भाट बोहराले ५४४ मतले अग्रता कायम राख्दा एमालेकी भुवन मल्ल बमले ३५३ मत प्राप्त गरेकी छन् । बडिकेदार–१ बाट नेकाका डम्बर बोहराको प्यानल विजयी भइसकेका छ । जोरायल गाउँपालिकामा नेकाका दीपकबहादुर बिष्टले २९६ मतसहित अग्रता लिएका छन् भने उपाध्यक्षमा पनि नेकाकै भावना बम ओझाले २९४ मत प्राप्त गरेकी छन् । एमालेका अध्यक्षका उम्मेदवार दुर्गा ओझाले २१५ र उपाध्यक्षका उम्मेदवार जमुना बोहराले १९१ मत ल्याएर पछ्याउँदैछन् । जोरायल–१ मा नेकाका उम्मेदवारले जितेका छन् ।

यस्तै, सायल गाउँपालिकामा एमालेका तेजबहादुर डुम्रेलले ५४८ मतका साथ अग्रता लिइरहँदा नेकाका धर्मराज जोशीले ४१० मतले पछ्याउँदैछन् । उपाध्यक्षमा पनि एमालेकै बिष्नादेवी सिँहले ५७६ मत ल्याउँदै अग्रता कायम गरेकी छन् भने नेकाकी पूर्णमाया थापा बिष्ट ४०९ मतले पछिपछि छन् ।

वडा नं १ मा भने एमालेको प्यानल नै विजयी भएको छ ।

आदर्श गाउँपालिकामा नेकाकै अग्रता छ जसमा अध्यक्षका उम्मेदवार लक्ष्मण सिँहले १६१ र उपाध्यक्ष कृष्णा ओझाले १६१ मत छ । एमालेका टेकबहादुर रोकायाले १३८ र उपाध्यक्षका उम्मेदवार कमला ओझाले १२८ मत प्राप्त गरेका छन् ।

बोगटान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार कमल गडसिलाले अग्रता लिइरहेका छन् । उनले ७६३ मत प्राप्त गरेका छन् भने नेकाका दिलबहादुर बमले ५५४ मतसहित पछ्याइरहेका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार चन्द्रादेवी भुलले ६९२ मतसहित अग्रता लिँदा नेकाकी बिष्ना बमले ४९८ मतले पछ्याउँदैछिन् ।

प्रकाशित : १६ असार २०७४, शुक्रबार ००:००