१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्छ– संयोजक गुरुङ



पोखरा, १५ असार । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नं– ४ संयोजक किरण गुरुङले कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसको उपलक्ष्यमा अखिल नेपाल किसान महासङ्घ कास्कीद्वारा आज माछापुच्छ्रे गाउँपालिकाका– ३ भलाबोट फाँटमा आयोजित असारे महोत्सवको शुभारम्भ गर्दै उहाँले प्रविधियुक्त व्यावसायिक कृषिमा युवा शक्तिको आकर्षण बढाउनुपर्ने बताउनुभयो ।

संयोजक गुरुङले पछिल्लो वर्षमा कृषिप्रतिको अनिच्छाका कारण खेतीयोग्य जमिन बाँझो हुने गरेको बताउँदै परम्परागत कृषि प्रणाली त्याग्दै आधुनिक व्यावसायिक कृषि प्रणालीलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् सांसद सीता गिरीले मुलुकको समृद्धिका लागि कृषिको आधुनिकरणसँगै बजारिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अखिल नेपाल किसान महासङ्घका केन्द्रिय उपाध्यक्ष शारदा सुवेदीले कृषि विकासका लागि किसानलाई अनुदान, बिमा, सिँचाइ, विद्युत् र आधुनिक प्रविधिलगायतमा आवश्यक सुविधा उपलव्ध गराउन महासङ्घले राज्यसँग माग गर्दै आएको जानकारी दिनुभयो ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले वास्तविक कृषकलाई राज्यले प्रोत्साहन गर्दै यसतर्फ रुचि जगाउनुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घ जिल्ला समन्वय समितिका संयोजक चुडामणि बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासङ्घका प्रदेश संयोजक पुन्य पौडेल, कार्यक्रम संयोजक अर्जुन पोखरेल, सचिव रघुनाथ भण्डारी लगायतले कृषि क्षेत्रको विकासका लागि राज्य गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

रोपाई महोत्सव रविप्रसाद पोखरेलको १० रोपनी क्षेत्रफलको जग्गामा भएको थियो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००