१३ चैत्र २०८०, मंगलबार । March 27, 2024

मुख्य खबर

‘काष्ठकला प्रशिक्षण’ सम्पन्न



काठमाडौँ, १५ असार । काष्ठकला क्षेत्रको विकास गर्ने उद्देश्यले सञ्चालित ‘काष्ठकला प्रशिक्षण’ आज यहाँ सम्पन्न भयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासङ्घ एवम् हस्तकला डिजाइन तथा विकास केन्द्रको संयुक्त रुपमा आयोजित सो प्रशिक्षणमा मौलिक कला तथा प्रविधिमैत्री कलाको सिर्जनाका विधिका बारेमा प्रशिक्षण दिइएको थियो ।
यही असार १० गतेबाट सुरु भएको सो प्रशिक्षणको समापन अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले स्वदेशमा निर्माण गरिएका प्राचीन कलाशैली, बास्तुकला र काष्ठकलाले अन्तर्राष्ट्रिय तहमा देशको गौरब बढाएको बताउनुभयो ।

भूकम्पले क्षति भएका सम्पदाको चाँडो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो संस्थाले कलाकारको सिर्जना प्रवद्र्धन गर्न महत्व दिएको छ भन्नुभयो ।

नेपाल हस्तकला महासङ्घका कार्यबाहक अध्यक्ष किरणकुमार डङ्गोल तथा उपाध्यक्ष सुनील चित्रकारलगायतले प्रशिक्षणमा काष्ठकला विधामा विभिन्न रङ्मा वस्तु उत्पादनका सीप सिकाएको बताउँदै तालिममा सिकेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानलाई प्रयोग गर्न सुझाव दिनुभयो ।

प्रशिक्षणमा दश प्रशिक्षार्थीको सहभागिता थियो ।

‘सल्यान, इतिहास र सपना’ नामक पुस्तक बजारमा

युवा लेखक गणेशमान सिंहद्वारा लिखित ‘सल्यान, इतिहास र सपना’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।

सल्यानको विकासमा स्थानीय युवाको भूमिकाको महत्व, राजनीतिक परिवर्तनमा स्थानीय जनताको योगदान, विभिन्न राजनीतिक उतारचढावको भावनालाई पुस्तकमा समेटिएको छ ।

सो अवसरमा व्यवस्थापिका– संसद अर्थसमितिका सभापति प्रकाश ज्वालाले सल्यानमा विभिन्न साधन तथा स्रोत भएर पनि त्यसको समुचित प्रयोग हुननसकेकाले त्यहाँको जनजीवन सामाजिक रुपमा अगाडि बढन नसकेको विषयलाई पुस्तकमा चिन्ता व्यक्त गरिएको बताउनुभयो ।

निर्धारित समयमा नै बाँकी रहेका क्षेत्रको चुनाव सम्पन्न गरी संविधान कार्यान्वयन गरेर देशलाई अगाडि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले जननिर्वाचित प्रतिनिधिले जनतालाई आर्थिक तथा सामाजिक उन्नतिको अनुभव गराउन सकिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीले वैज्ञानिक समाजवादको कार्यक्रम अघि सारेर देश र जनताको अधिकार सुरक्षित गर्न सकिन्छ भन्नुभयो ।

लेखक सिंहले नेपाली साहित्यमा क्रान्तिकारी विचारको पक्षमा लेख, रचना कम हुँदै गएको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००