१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

तीन केन्द्रमा पुनः मतदान गर्न काँग्रेसको माग



काठमाडौँ, १५ असार । नेपाली काँग्रेसले बझाङ र अछामका तीन मतदान केन्द्रमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

नेकपा (एमाले) का कार्यकर्ताले सो मतदान केन्द्र कब्जामा लिई एकलौटी मतदान गरेको भन्दै काँग्रेसले ती मतदान केन्द्रमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गरेको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बझाङको सुलिपिपलचौर उच्च मावि मतदान केन्द्र, अछामको वैद्यनाथ मावि मतदान केन्द्र र साँफेबगरस्थित चन्द्रोदय प्रावि मतदान केन्द्रमा पुनः मतदान गर्न माग गर्नुभएको हो ।

विज्ञप्तिमार्फत काँग्रेसले आफ्ना प्रतिनिधिलाई मतदान केन्द्रमा बस्न नदिएको साथै कुटपिट गरी लखेटेको भन्दै पुन ः मतदान गर्न माग गरेको छ ।

काँग्रेसले भयरहित वातावरणमा निर्धक्कसँग निर्वाचनमा सहभागी भई आफ्नो मत प्रकट गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि नेकपा (एमाले) ले ठाडो उल्लङ्घन गरेको आरोप लगाएको छ ।

मतदान केन्द्र कब्जामा लिने, मतदातालाई डर, धाक र धम्की दिने, सुरक्षा बलको आडमा अभद्र व्यवहार गर्ने जस्ता कार्यको निन्दा गर्दै मतदानस्थलको यथार्थ छानबिन गरी पुनः मतदान गराउन काँग्रेसले आयोगसँग माग गरेको हो ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००