२ बैशाख २०८१, आइतबार । April 15, 2024

मुख्य खबर

‘सूचना धेरै राख्ने नै धनी’



बनेपा, १५ असार । सूचनाको हकलाई शक्ति र सम्पत्तिका रुपमा उपयोग गर्न सरोकार भएकाहरुले जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकले आज यहाँ आयोजना गरेको सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलनसम्बन्धी गोष्ठीमा उनीहरुले सूचनाको हकलाई दायित्वका रुपमा निर्वाह गर्नसमेत आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचना धेरै राख्ने व्यक्ति नै अहिलेका सन्दर्भमा धनी भएको उल्लेख गर्दै सूचनाको हक शक्तिका रुपमा समेत परिभाषित भएको बताउनुभयो ।

काभ्रेपलाञ्चोकका प्रजिअ शिव सिंखडाले सूचनाको हकलाई दायित्वका रुपमा लिएर उपयोग गर्न जोड दिँदै समाचार नलेख्ने पत्रकारले पत्रकारका नाममा सुविधा लिन नहुने बताउनुभयो ।

महासङ्घका अध्यक्ष मोतीराम तिमिल्सिना, नेपाल प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक सहदेव थापालगायतले सूचनाको हक सबैको अनिवार्य अधिकार भएको बताउनुभयो ।

त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयोजनमा आज नै आयोजित न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी अन्तक्र्रियामा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य युवराज विद्रोहीले श्रमजीवी पत्रकारले पाउने पारिश्रमिकमा कुनै सम्झौता नहुने बताउनुभयो ।

काभ्रेपलाञ्चोकबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकले साप्ताहिक पत्रिकालाई समानुपातिक विज्ञापन नीति ल्याउन आग्रह गरेका थिए ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००