१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

मुख्य खबर

निर्वाचन सम्पन्न भएकामा प्रमबाट धन्यवाद ज्ञापन



काठमाडौँ, १५ असार । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ । दशकौँसम्मको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ, ” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उल्लेख गर्नुभएको छ ।

संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको यस राष्ट्रिय महायज्ञमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले अत्यन्त उत्साह, संयम र धैर्यका साथ आफ्नो मत दिनुभएको बताउँदै उहाँले निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको छ जनाउनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा देखिएको उत्साहजनक जनसहभागिताले आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनको सफलताको पूर्वसङ्केत गरेको उहाँले स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोग तथा मतदानमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत मतदाता सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई आफू र आफ्नो पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००