८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

धाँधली भएका स्थानमा पुनःमतदानको माग



काठमाडौँ, १४ असार । नेकपा (एमाले)ले दोश्रो चरणअन्तर्गत आज सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दल, उम्मेदवार र मतदातालाई धन्यवाद व्यक्त गरेको छ ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज साँझ जारी गर्नुभएको विज्ञप्तिमा राजनीतिक स्थिरता र आर्थिक विकासका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकलाई पनि धन्यवाद दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ– “संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा स्थानीय सरकार निर्माण गर्ने सो निर्वाचनले जनताका घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

स्थानीय विकास तथा पूर्वाधार निर्माणका लागि प्रदेश नं २ का जनतालाई पनि चुनावमा चाँडो सहभागी गराउन माग गर्दै विज्ञप्तिमा निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको गरेको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएकोमा पार्टीको आपत्ति रहेको जनाइएको छ ।

अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्र, डोटीको केआइसिंह नगरपालिकामा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको घटना तथा अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारिया लगायतका ठाउँमा धाँधली गरिएकाले त्यस घटनाको भत्र्सना गर्दै धाँधली भएका मतदान केन्द्रमा पुनःमतदान गराउन माग विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००