१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

सुदूरपश्चिमभर उत्साहजनक मतदान



भीमदत्तनगर, १४ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सुदूरपश्चिममा मतदाताको उत्साहजनक सहभागिता रहेको पाइएको छ ।

बुधबार सम्पन्न निर्वाचनमा यहाँका नौवटै जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक तथ्याङ्क जिल्ला निर्वाचन कार्यालयहरुले सार्वजनिक गरेका छन् ।

प्रारम्भिक जानकारीअनुसार सबैभन्दा बढी मतदाता रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा ७० प्रतिशत मतदाताले मतदान गरेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकृत प्रेमराज भट्टले कुल चार लाख ३ हजार २८० मतदाता रहेको कैलालीमा ७० प्रतिशतले मतदान गरेको प्रारम्भिक जानकारी आएको बताउनुभयो ।

त्यसैगरी, दुई लाख ३५ हजार ७३५ मतदाता रहेको कञ्चनपुरमा ६८ प्रतिशतले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ । कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी केशबसिंह भण्डारीले ६५ प्रतिशतभन्दा बढी मत खसेको बताउनुभयो ।

पहाडी जिल्ला डडेल्धुरामा ७५ देखि ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले अनुमान गरेको छ । निर्वाचन अधिकृत कृष्णसिंह नायकले कुल ७५ हजार ७८० मतदाता रहेको डडेल्धुरामा राम्रै मत खसेको बताउनुभयो । त्यसैगरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको डोटीमा ७० प्रतिशतले मतदान गरेका छन् । एक लाख एक हजार २१ जना मतदाता रहेको डोटीमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ ।

अर्को पहाडी जिल्ला दार्चुलामा करिब ८० प्रतिशत मतदान भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । बहत्तर हजार २९५ मतदाता रहेको दार्चुलामा पनि निर्वाचन शान्तपूर्ण वातारवणमा सम्पन्न भएको छ । एक लाख २७ हजार ४४७ मतदाता रहेको अछाम जिल्लामा पनि ७० प्रतिशतभन्दा बढीले मतदान गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय अछामले केही स्थानमा सामान्य विवादबाहेक जिल्लाभर उत्साहका साथ मतदाताहरुले मतदान गरेको जनाएको छ ।

विकट पहाडी जिल्ला बाजुरामा भने ८० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकृत मानबहादुर थापाले बाजुरामा ८० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरेको बताउनुभयो । बाजुरामा ६४ हजार ९५० मतदाता रहेका थिए । त्यसैगरी पहाडी जिल्ला बैतडीमा भने ६५ प्रतिशत मात्रै मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । एक लाख २५ हजार २८३ मतदाता रहेको बैतडीमा निर्वाचन विरोध समूहले एउटा स्थानमा बम विष्फोट गरेको थियो । बैतडीमा पनि मतदाताहरुले शान्तपूर्ण वातावरणमा मतदान गर्ने अवसर पाएका थिए । त्यस्तै, बझाङमा पनि ७० देखि ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।

बझाङका जिल्ला निर्वाचन अधिकारी धुव्र भण्डारीले एउटा मतदान केन्द्रमा दलीय विवादका कारण निर्वाचन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–३ मा रहेको पाण्ड मावि पडँेसमा भने नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको विवादका कारण मतदान स्थगित भएको हो । सन्तानब्बे हजार ६१० मतदाता रहेको यस जिल्लाका बाँकी मतदान केन्द्रहरुमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न भएका छन् ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००