९ बैशाख २०८१, आइतबार । April 22, 2024

मुख्य खबर

जैविक प्रविधिसम्बन्धी राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु



रत्ननगर (चितवन), १४ असार । जैविक प्रविधिसम्बन्धी वैज्ञानिक तथा अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, जैविक प्रविधि केन्द्रद्वारा आयोजित सो दुई दिने सम्मेलनमा नेपालका १२५ जना वैज्ञानिक, नीति निर्माता, अनुसन्धानकर्ता तथा प्राध्यापकहरुको सहभागितामा रहेन छ ।

सम्मेलनमा विज्ञहरुको ३० वटा कार्यपत्र प्रस्तुत हुने र प्रस्तुत उक्त कार्यपत्रमाथि विस्तृत छलफल गरेर ‘राष्ट्रिय जैविक प्रविधि घोषणा पत्र – २०७४’ जारी गर्दै सम्पन्न हुने केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरियाले जानकारी दिनुभयो ।

सम्मेलनमा कृषि तथा वन, वनस्पति तथा पशुहरुमा हालसम्म भएगरेका अनुसन्धान, उपलव्धी, चुनौती तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीति र योजनाका बारेमा गम्भीर छलफल हुने पनि उहाँले बताउनुभयो ।
दई वर्षदेखि चितवनको रामपुरमा रहेको सो केन्द्रले विभिन्न जैविक प्रविधिअन्तर्गत भैंसी, अर्ना, कस्तुरी मृग, चामल, कुखुरा, औषधी, वन्यजन्तुलगायतमा अनुसन्धान गरिरहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीले जैविक प्रविधिलाई वर्तमान आवश्यकताअनुसार प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यसको उपयोगिता र आवश्यकताको बारेमा सुसूचित गराउनुपर्ने उल्लेख गर्दै उहाँले विशेषगरी कृषि क्षेत्रमा यो प्रविधिको प्रयोग गरी खाद्य सुरक्षासँग जोड्न सके अझ प्रभावकारी हुने बताउनुभयो ।

सदस्य बुढाथोकीले नेपालजस्तो देशमा जैविक विविधता र वातावरण संरक्षणमा पनि जैविक प्रविधिको प्रयोग आवश्यक भएको आवश्यकता औल्याउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले जीनको तहमा पुगेर अनुसन्धान गर्ने भएकाले जैविक प्रविधिको प्रयोग एकदम जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

केन्द्रका निर्देशक डा कडरियाले बेलाबेलामा यससम्बन्धी विशेषज्ञहरुको छलफल जरुरी रहेको बताउँदै सरकारले पनि प्रविधिको विकास र अनुसन्धानमा चासो दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००