९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

७० प्रतिशत मतदान



पाँचथर, १४ असार । दोस्रो चरणको निर्वाचनमा विभिन्न केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य हकहित सम्बद्ध समितिका सभापति भीष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिका–१ उम्लाबुङस्थित शान्ति क्षेत्र प्राविबाट आज बिहानै मतदान गर्नुभयो ।

यस्तै नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले कुमायक गाउँपालिका–४ बाट मतदान गर्नुभयो । नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व स्थानीय विकास तथा पशुपक्षीमन्त्री श्रीप्रसाद जवेगुले फालेलुङ गाउँपालिका– ८ स्थित अंशुभन्ज्याङबाट मतदान गर्नुभएको छ ।

त्यसैगरी काँग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले फिदिम नगरपालिका– १ स्थित फिदिम मावि केन्द्रबाट मतदान गर्नुभएको छ । त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा काँग्रेसका नेता पूर्णकुमार शेर्माले भने अस्वस्थ भएका कारण मतदान गर्न सक्नुभएन ।

अपराह्न २ बजेसम्ममा यहाँ ७० प्रतिशत मत खसेको मुख्य जिल्ला निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यहाँ एक लाख २० हजार ३२८ मतदाता छन् । जिल्लाका आठ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ । बिहान केही गाउँपालिकामा पानी परेर रोकिएको मतदान पुनः सञ्चालन भएको थियो । जिल्लाका एक सय मतदानस्थलका १५६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको मुख्य निर्वाचन कार्यालय फिदिमले जनाएको छ ।

जिल्लास्तरीय सुरक्षा समितिले तोकेको सीमावर्ती क्षेत्रका १५ अतिसंवेदनशील, ५७ संवेदनशील र २८ सामान्य मतदानस्थलमा निर्वाचन शान्तिपूर्ण भइरहेको छ । यहाँ ३१६ पदमा उम्मेदवारी परेको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००