९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

प्रदेश नं पाँचका विभिन्न दलका नेताले मतदान गर्नुभयो



बुटवल, १४ असार । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा विभिन्न दलका शीर्ष नेताहरुले आज आ–आफ्नो मतदाता नामावली रहेको स्थानबाट मतदान गर्नुभएको छ ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बुटवल– ८ को सडक विभाग मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले पनि आफ्नो निर्वाचन क्षेत्र रहेको तिलोत्तमा नगरपालिका– ८ बाट मतदान गर्नुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री दीपक बोहराले पनि आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सिद्धार्थनगर नगरपालिका–३ बाट मतदान गरिसक्नुभएको छ ।

नेकपा एमालेका केन्द्रीय सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले गुल्मी जिल्लाबाट मतदान गर्नुभएको छ । एमाले सचिव ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका अन्तर्गत बम्घा निमावि ‘क’ केन्द्रबाट मतदान गर्नुभएको छ । यस्तै अर्का सचिव विष्टले इस्मा गाउँपालिका अन्तर्गत रामराज्य उच्च मावि दोहनी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
यस्तै (माओवादी केन्द्र)का नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– १२ स्थित राखिचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
गुल्मी क्षेत्र नं– २ का सांसद तथा नेपाली काँगे्रसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले छत्रकोट गाउँपालिका– १ स्थित जनजागृति उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै काँग्रेस नेतृ तथा पूर्व राज्यमन्त्री सुवर्ण ज्वारचनले सत्यवति गाउँपालिका– ६ स्थित ज्ञानोदय प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभयो । यस्तै एमाले नेतृ रामकुमारी झाक्रीले गुल्मीकै मदाने गाउँपालिका–४ मेयलपोखरी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यस्तै काँग्रेस नेता मानबहादुर विश्वकर्माले पनि सन्धिखर्क– २ बाट मतदान गर्नुभएको छ । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले पाल्पाको रामपुर नगरपालिका– ३ बाट मतदान गर्नुभएको छ भने एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पाल्पास्थित तानसेन नगरपालिका– ९ दमकडा केन्द्रबाट मतदान गर्नुभएको छ ।

निर्वाचनमा सबै मतदान केन्द्रमा मतदान सुचारु रहेको र मतदाताको मतदानका लागि उत्साहपूर्वक सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा मतदाताको बिहानै देखिनै भिड लागेको छ । रुपन्देहीमा– दुई लाख २२ हजार १११ महिला, दुई लाख ४० हजार ४३० पुरुष र पाँच तेस्रो लिङ्गीसहित चार लाख ६२ हजार ५८६ मतदाता रहेकाछन् ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००